नेपालको संविधानले राज्यको कार्यकारी शक्ति तीन तहमा विभाजन गरेको छ । नेपाली जनताले पहिलो पटक आफैँले निर्वाचित गरेको संविधानसभाका प्रतिनिधिले निर्माण गरिएको नेपालको संविधान २०७२ असोज ३ गतेदेखि लागु भएसँगै नेपाल सङ्घीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रूपान्तरित भएको छ । संविधानमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मुल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहने तथा राज्य शक्तिको प्रयोग तीन ओटै तहले संविधान र कानुन बमोजिम गर्ने व्यवस्था छ । संविधानले देशभरमा ७ सय ५३ ओटा स्थानीय सरकार, सात ओटा प्रदेश सरकार र एउटा सङ्घीय सरकार गरी ७ सय ६१ ओटा सरकारको व्यवस्था गरेको छ । पाँचपाँच वर्षमा आवधिक निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ । संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न ऐन, कानुन, निर्देशिकाहरू जारी गरिएको छ । २०७४ सालमा तीन चरणमा गरी स्थानीय तहको निर्वाचन सम्पन्न गरिएको थियो ।