आज वैशाख ३० गते देशका सबै जिल्लामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । उम्मेदवारहरूको मृत्युका कारण दाङ जिल्ला र कपिलवस्तु जिल्लाका केही वडामा आजको मतदान स्थगन भएका कारण ७ सय ५१ स्थानीय तहमा मतदान सम्पन्न भएको छ भने केही पदहरूमा यसअघि नै जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचन आयोगबाट पर्यवेक्षण अनुमति प्राप्त गरेका इन्सेकका २ सय ३४ जना पर्यवेक्षकले प्राप्त गरी ७५ जिल्लाका २ सय ५० भन्दा बढी मतदानस्थलको अनुगमन गरेका छन् । इन्सेकका पर्यवेक्षकहरूबाट प्राप्त भएको जानकारी अनुसार आजको निर्वाचनमा छिटपुट वादविवाद, केही झडप तथा आचारसंहिता उल्लङ्घनका घटना बाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
यो निर्वाचनले स्थानीय सरकारको निरन्तरताको सुनिश्चितता गरेको छ । आवधिक निर्वाचनहरू स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित, भयरहित र शान्तिपूर्ण हुनुपर्छ भन्ने मान्यता संसारभर राखिन्छ । चुनाव निष्पक्ष र स्वतन्त्ररूपमा सम्पन्न गर्न सकिएन भने सरकार, राजनीतिक दल र निर्वाचन आयोगप्रति नै अविश्वासको अवस्था सृजना हुन्छ । निर्वाचनका माध्यमबाट नागरिक नीति निर्माण तहमा वैधानिक रूपमा पुग्ने र विधिको शासन कायम गर्ने राजनीतिक प्रणाली लोकतन्त्र हो । तसर्थ लोकतन्त्रमा आवधिक निर्वाचन अपरिहार्य हुन्छ । निर्वाचनमा मतदान गर्ने मतदाताको सार्वभौम र मौलिक अधिकार हो । स्वच्छ विश्वसनीय, मर्यादित र धाँधलीरहित निर्वाचन भएमा मात्रै मतदाताले सही प्रतिनिधिहरूको छनौट गर्न सक्दछन् । निष्पक्ष निर्वाचनले मात्रै लोकतान्त्रिक पद्धतिको सवलीकरण र विकासमा टेवा पुर्याउँछ । यो निर्वाचनमा देखिएको जनताको उत्साह, युवा पुस्ताको व्यापक र दरिलो सहभागिता, महिला तथा दलितको व्यापक प्रतिनिधित्व हुन पाउने अवस्थाले लोकतन्त्रको आधारस्तम्भलाई बलियो बनाउने नै छ । नयाँ संविधानद्वारा प्रदत्त अधिकारलाई जनताको घरदैलोमा पुर्याउन यो निर्वाचनले खेल्ने भूमिका महत्वपूर्ण हुनेछ ।