नेपालमा सङ्घीय शासन प्रणाली लागु भएपछि स्थानीय तहको निर्वाचन दोस्रोपटक भोलि वैशाख ३० गते शुक्रबार हुँदैछ । बिहान ७ बजेदेखि साँझ पाँच बजेसम्म हुने निर्वाचनमा ७ सय ५३ स्थानीय तहका ३५ हजार २ सय २१ पदका लागि १ लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यो निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन्। मौन अवधिको दोस्रो दिन देशका केही जिल्लामा झडपका घटना अभिलेखित भए । निर्वाचन आयोगले हिजो र आज पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता भएका नयाँ मतदाताका लागि परिचय पत्र वितरण गरेको छ । परिचयपत्र नहुने मतदाताले नागकिता, पासपोर्ट तथा जग्गाधनी पुर्जा देखाएर मतदान गर्न पाउने व्यवस्था गरिएकाले पनि हुनसक्छ धेरै मतदाता परिचयपत्र लिन आएको पाइएन ।