बलात्कार मुद्दामा बाल सुधार गृहमा थुनामा रहेका मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल बस्नेतको ०८० भदौ ३ गते बिहान ६ बजेतिर सुधार गृहमा मृत्यु भयो । ज्वरो र पिलोका कारण बिरामी भएका बस्नेतलाई समयमा नै उपयुक्त उपचारका लागि अस्पताल नलगिएका कारण मृत्यु भएको पाइयो ।सुधार गृह प्रशाशनको लापरवाहीका कारण बालकको ज्यान गएको भन्दै ०८० भदौ ३ गते नै घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र पीडित पक्षलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै सुधार गृहमा रहेका बालकहरूले सुधार गृह भित्र र मृतकका आफन्तले सुधारगृह परिसरमा नाराबाजी गरेका थिए । सोही क्रममा प्रहरीसँगको झडपपछि सुधारगृहभित्र रहेका २ सय २१ जना बालबालिका सुधार गृहको पछाडिको ढोका फोडेर बाहिर निस्किएका थिए ।
कारागार व्यवस्थापन विभाग मातहत रहेको र न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप) नेपालको व्यवस्थापनमा मध्यपुरथिमी नगरपालिका–२ सानोठिमीमा सञ्चालित बाल सुधार गृहमा जिल्ला अदालत रामेछापको ०७७ जेठ २९ गतेको आदेशमा बस्नेत थुनामा रहेका थिए । बाल सुधार गृह प्रसाशनले भदौ ३ गते ६ बजे बालकलाई मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा रहेको नागरिक सामुदायिक अस्पतालमा उपचारका लागि लगेकामा अस्पतालमा ल्याई पुर्याउनु अगावै बालकको मृत्यु भइसकेको अस्पताल प्रशाशनले अनुगमन टोलीलाई जानकारी दियो ।