INSEC Online

📅 २०८३ जेष्ठ २१

 

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत देशका सबै जिल्लामा मतदान सम्पन्न भएर नतिजा आइसकेको छ । सबैजसो स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले कार्यभार ग्रहण गरी बजेट समेत ल्याइसकिएको छ । वैशाख ३० गते मतदान सम्पन्न भएपनि मतगणना नभइ स्थगित गरिएको बाजुराको बुढीगङ्गा नगरपालिकामा २०७९ असार २३ गते पुनः मतदान सम्पन्न गरिएको छ ।
वैशाख ३० गतेको निर्वाचनमा कांग्रेस प्रभावशाली रहेको वडा नं ४ र ७ मा कांग्रेस कार्यकर्ताले बुथ कब्जा गरेको आरोप  थियो । वडा नम्बर २, ३, ५ र ९ मा एमालेका कार्यकर्ताले आफ्नो नियन्त्रणमा लिएर मतदान गरेको आरोप थियो । नगरपालिकाका २, ३, ४, ५, ७ र ९ नं वडाका मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिने घटना मतदानकै समयमा भएपनि गम्भीरतापूर्वक लिइएन । नेपाली कांग्रेसले नियन्त्रणमा लिएर मतदान गरेको आरोप लागेको वडा नं ४ को थुमा मावि मतदानस्थलमा १ हजार ७ सय ९ मतदाता छन् । त्यसमध्ये १ हजार ६ सय ९९ मत खसाइएको थियो । थुमा मतदान केन्द्रमा जस्तै एमालेले नियन्त्रणमा लिएको भनिएको वडा नं ९ को त्रिशक्ति मावि मतदान केन्द्रमा १ हजार ४ सय ८३ मतदाता सङ्ख्या छ । वैशाख ३० को निर्वाचनमा १ हजार ३ सय ४७ मत खसेको थियो । यहाँ ९० दशमलव ८२ प्रतिशत खसालिएको थियो ।
 दुई ठूला दलका आरोप प्रत्यारोप र बुथ कब्जाका कारण विवादित बनेको बुढीगङ्गामा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णय अनुसार २०७९ असार २३ गते पुनः निर्वाचन सम्पन्न भएको हो । असार २३ गते भएको निर्वाचनमा इन्सेकका चार जना पर्यवेक्षकले निर्वाचन आयोगबाट पर्यवेक्षण अनुमति प्राप्त गरी मतदानस्थलको अनुगमन गरेका छन् । आजको निर्वाचन सामान्य वादविवाद बाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । आज भएको मतदानमा ६६.८३ प्रतिशत मत खसेको छ । कूल १३,६५९ मतदातामा ९,१२८ मत खसेको हो ।
editor

Related Articles