मुगुको सोरु गाउँपालिका–७ स्थित विजय आवासीय माध्यमिक विद्यालयमा पर्याप्त कक्षाकोठा नहुँदा विद्यार्थीहरू जोखिमपूर्ण जस्ताको टहरोमा बसेर अध्ययन गर्न बाध्य भएका छन्।
कक्षा १० मा अध्ययनरत बालसुन्दरी बिष्टले सास्ती भोगेर पढ्नुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँ जस्तै अन्य विद्यार्थीहरू पनि अस्थायी टहरोमै अध्ययन गरिरहेका छन्।
हावाहुरी आउँदा कापी–किताब उडाउँछ, पानी पर्दा भिज्ने समस्या हुन्छ, बालसुन्दरीले भन्नुभयो, सहरका विद्यार्थीहरू सुविधायुक्त विद्यालयमा पढिरहेका होलान्, हामी भने टिनको टहरोमा बसेर पढ्न बाध्य छौँ।
सोरु गाउँपालिकाको एकमात्र आवासीय विद्यालयका रूपमा सञ्चालनमा रहेको उक्त विद्यालयमा आधारभूत भौतिक पूर्वाधारको अभाव छ। प्राथमिक तहका लागि सामान्य कक्षाकोठा भए पनि निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीहरू जस्ताको टहरोमा अध्ययन गरिरहेका छन्। विद्यालयका प्रधानाध्यापक रत्नराज चौलागाईंले कक्षाकोठाको अभावका कारण विद्यार्थीहरूलाई अस्थायी टहरोमा राखेर पठनपाठन गराउनुपरेको बताउनु भयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छक्कबहादुर बिष्टका अनुसार गाउँघरका बालबालिकाले घर नजिकै आवासीय सुविधा सहित शिक्षा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले विद्यालय स्थापना गरिएको हो। तर पर्याप्त पूर्वाधार नहुँदा शिक्षक र विद्यार्थी दुवैले कठिनाइ भोग्नुपरेको उहाँले बताउनु भयो।
समुदायको पहलमा टिनको टहरो बनाएर पढाइ सञ्चालन गरेका छौँ, उनले भने, यो समस्या समाधानका लागि सरकारी तथा गैरसरकारी निकायको सहयोग आवश्यक छ। अभिभावक टेकबहादुर बिष्टले विद्यालयमा कक्षाकोठा मात्र नभई शौचालय, पुस्तकालय र खानेपानी जस्ता आधारभूत सुविधा समेत अभाव रहेको बताउनु भयो।
जस्ताको टहरोमा अध्ययन गर्दा विद्यार्थीहरूले मौसमअनुसार विभिन्न समस्या भोगिरहेका छन्। गर्मी याममा टहरो अत्यधिक तातेर बस्नै नसकिने अवस्था हुन्छ भने वर्षायाममा जस्तामा पानी पर्दा आउने ठूलो आवाजले पठनपाठन प्रभावित हुने गरेको अभिभावकहरू बताउँछन्।

आवासीय विद्यालय भए पनि विद्यार्थीहरूको बसोबासको अवस्था समेत दयनीय रहेको छ। सीमित ठाउँमा कोचाकोच गरेर बस्नुपर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ।
स्थानीय अभिभावक, नागरिक अगुवा, वडा प्रतिनिधि तथा सरोकारवालाहरूले सोरु गाउँपालिका, कर्णाली प्रदेश सरकार र संघीय सरकारको शिक्षा मन्त्रालयसँग तत्काल बजेट व्यवस्थापन गरी विद्यालय भवन तथा सुरक्षित कक्षाकोठा निर्माण गर्न माग गरेका छन्।
सिप, बुम्च, ख्याल्च, सिरुपाट, गोइलपानी, पारपानी, तारापानी लगायतका बस्तीका विद्यार्थीहरू अध्ययनका लागि विजय आवासीय माध्यमिक विद्यालयमा आउने गरेका छन्।
