अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको टोलीले मधेस प्रदेशका प्रमुख डा. सुरेन्द्र लाभ कर्णसँग २०८३ जेठ २० गते भेटघाट गरी मधेस प्रदेशको मानव अधिकार अवस्थाका बारेमा छलफल गरेको छ ।
इन्सेकका अध्यक्ष गौतमले देशको ७७ जिल्लामा मानव अधिकार संरक्षण, संवर्धन र प्रवर्धनमा इन्सेकले निर्वाह गरिरहेको भूमिकाका बारेमा प्रदेश प्रमुख डा. कर्णलाई जानकारी गराउनु भयो । अध्यक्ष गौतमले मधेस प्रदेशको मानव अधिकार अवस्था सन्तोषजनक नरहेको र प्रदेशमा मानव अधिकारको अवस्था सुधारमा प्रदेश सरकारको भूमिका पनि महत्वपूर्ण हुनेमा जोड दिनु भयो ।

मधेस प्रदेश प्रमुख डा. कर्णले मानव अधिकारको क्षेत्रमा निर्वाह गरेको भूमिकाका कारण इन्सेक मानव अधिकारकै पर्यायबाची भएको बताउनु भयो । उहाँले भन्नु भयो– “इन्सेक नेपालमा मानव अधिकारको संरक्षण, संवर्धन र वकालत गर्ने अग्रणी संस्था हो, त्यसैले इन्सेक मानव अधिकारका लागि आवश्यक छ, दिर्घजिवी हुनु पर्छ ।”
इन्सेकले द्वन्द्वका समयमा मानव अधिकारका लागि खेलेको भूमिका र धनुषा जिल्लाको यदुकुहामा सहिद पार्क बनाउने जस्ता कार्यको प्रसंशा गर्दै आजकल सो कार्यको बारेमा चर्चा समेत हुने गरेको प्रदेश प्रमुखले बताउनु भयो ।

इन्सेकका अध्यक्ष गौतमले प्रदेश प्रमुख कर्णलाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ हस्तान्तरण गर्नु भयो । साथै इन्सेकले मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणसम्बन्धी तयार पारेको मस्यौदा विधेयक समेत डा. कर्णलाई हस्तान्तरण गर्दै मधेस प्रदेश सभाबाट यस विधेयकलाई पास गराउने कार्यमा भूमिका खेलिदिन उहाँले आग्रह गर्नु भएको छ ।

प्रदेश प्रमुख डा.कर्णसँगको भेटघाट तथा छलफल कार्यक्रममा इन्सेकका अध्यक्ष गौतमसहित निर्देशकहरु मदन पौडेल, भार्गव काफ्ले र प्रदेश संयोजक राजु पासवानको सहभागिता रहेको थियो ।
