‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने मूल नाराका साथ १ सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । नेपाल संयुक्त राष्ट्रसङ्घले जारी गरेको महिला विरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि–१९७९ को पक्ष राष्ट्र हो । यो महासन्धिलगायत विभिन्न अन्तर्राष्ट्रिय महासन्धि तथा महिलासँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रावधानहरूमा नेपालले प्रतिबद्धता जनाएको छ । नेपालमा महिला अधिकारका सम्बन्धमा नीतिगत तथा कानुनी संरचनामा लोकतन्त्र स्थापनासँगै सुधार आएको भएपनि तिनीहरूको कार्यान्वयनमा भने अझै सुधारको खाँचो रहेको छ । महिलासँग सम्बन्धित कानुनी प्रावधान एवम् राजनीतिक सहभागिताको अवस्थामा उल्लेख्य सुधार हुँदाहुँदै पनि नेपालका महिला विभिन्न खाले संरचनात्मक एवम् लैङ्गिक हिंसाबाट पीडित हुँदै आएका छन् । मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अनुगमन गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गरेको अभिलेख अनुसार सन् २०२१ मा महिला तथा बालिकाविरूद्ध भएका हिंसात्मक घटनाहरूमा कमी आउन सकेको छैन ।