रामेछापको मन्थली नगरपालिका–११ स्थित गेलु प्राथमिक स्वास्थ्य केन्द्रमा चार वर्षदेखि डाक्टरको दरबन्दी रिक्त छ। सङ्घीय सरकारको दरबन्दी भए पनि स्थानीय सरकारको व्यवस्थापनमा सञ्चालित स्वास्थ्य केन्द्रमा चिकित्सक नपुग्दा स्वास्थ्य सेवा प्रायः ठप्प भएको छ।
स्थानीयका अनुसार, केही वर्षअघिसम्म डाक्टर रहेकै बेला नियमित बिरामी आउने केन्द्र अहिले सधैं सुनसान हुन्छ। सामान्य स्वास्थ्य समस्या हुँदा पनि सेवा नपाएर स्थानीयले सदरमुकाम मन्थली पुग्नुपर्ने बाध्यता रहेको स्थानीय कैलाश खत्री बताउनुहुन्छ।

हाल स्वास्थ्य केन्द्र सहायकस्तरका स्वास्थ्यकर्मीको भरमा सञ्चालन भइरहेको छ। अघिल्लो स्थानीय तहको कार्यकालमा केन्द्रमा एकजना डाक्टरले केही समय सेवा दिए पनि उहाँ उच्च अध्ययनका लागि गएपछि हालसम्म अर्का डाक्टर नफर्केको स्थानीय खत्री बताउनु हुन्छ।
गेलुमा डाक्टर नहुनुमा व्यवस्थापनको कमजोरी रहेको स्थानीयको गुनासो छ। नगरपालिकाले केन्द्रमा डाक्टर पठाउने बजेट व्यवस्था गरे पनि प्रायः डाक्टरलाई मन्थलीस्थित अस्पतालमै राख्ने गरेको आरोप लाग्दै आएको छ।
सङ्घीय सरकारले पठाउने डाक्टरहरूलाई पनि जनस्वास्थ्य कार्यालयले रामेछाप अस्पताल वा खिम्ती स्वास्थ्य केन्द्रमा खटाउने गरेको देखिन्छ। स्थानीय सम्झना बुढाथोकीको भनाइ छ, ‘डाक्टर भए धेरैथरीका औषधि पाइन्थ्यो, यहाँका बिरामीले पनि सुविधा पाउँथे तर डाक्टर नै बस्दैनन्।’
उहाँका अनुसार, सहायक स्वास्थ्यकर्मीलाई सिमित औषधि मात्र दिने भएकाले अस्पताल भए पनि उपचारको भरपर्दो विकल्प बन्न सकेको छैन। गेलु स्वास्थ्य केन्द्र मन्थली बजारबाट करिब ११ किलोमिटर टाढा पर्छ। नजिकै सुविधा सम्पन्न अस्पताल भएकाले धेरैले मन्थलीमै उपचार खोज्ने गरेको र यसैकारण जनप्रतिनिधिले पनि डाक्टर व्यवस्थापनमा चासो नदेखाएको गुनासो छ। वडा अध्यक्ष भीमबहादुर थापामगरका अनुसार गेलुमा डाक्टर लगिए पनि बस्न मान्ने कमै छन्, पढ्न जान खोज्ने मात्रै आउँछन्।