राजविराज नगरपालिका–६ स्थित जिल्ला कारागारमा सुरक्षा अपरेशनका क्रममा ०८३ साउन २ गते ४० वर्षीय बुधन मण्डल, ४२ वर्षीय अमरनाथ विश्वास, ३३ वर्षीय अनिस कुमार मण्डल , ३५ वर्षीय मिथलेश यादव र ३० वर्षीय सुन्दर मुखियाले कारागारको मुख्य प्रवेशद्वार तथा आफ्नै शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।
मानवीय क्षति हुन सक्ने उच्च जोखिम देखिएकाले सुरक्षा निकायले अपरेशन स्थगित गरेको कारागार प्रशासनले जनाएको छ ।
यसअघि असार ३२ गते बेलुका लागूऔषध मुद्दाका कैदी बुधन मण्डललाई बी–ब्लकबाट ए–ब्लकमा सार्ने क्रममा बी–ब्लकका केही कैदीबन्दीले चौकीदार रामरिजन यादवमाथि हातपात गरेका थिए । उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचार भयो । कैदीबन्दीलाई सम्झाइ–बुझाइ गरेपछि अवस्था सामान्य बनाएको प्रहरी नायब निरीक्षक जीवछ शर्माले जानकारी दिनुभयो ।
बी–ब्लकका चौकीदार रामरिजन यादव साउन १ गते नियुक्त भएपछि व्यवस्थापन तथा कैदीबन्दीप्रति असमान व्यवहार भएको आरोप लगाउँदै कैदीबन्दीबीच असन्तुष्टि र गुटबन्दी बढ्दै गएको कारागार प्रमुख रूपक मण्डलले बताउनु भयो । कारागारभित्र थप अशान्ति हुन सक्ने तथा शंकास्पद वस्तु लुकाइराखिएको हुन सक्ने आशंकाका आधारमा साउन २ गते बिहान विशेष कारागार सुरक्षा अपरेशन सञ्चालन गर्ने निर्णय गरिएको थियो। जसअनुसार सशस्त्र प्रहरी बल नेपाल नं. ६ गणबाट सशस्त्र प्रहरी नायब उपरीक्षक निरन थापाको नेतृत्वमा ५० जना तथा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेको नेतृत्वमा ७० जना प्रहरी परिचालन गरिएको थियो।