गोकुलगङ्गा गाउँपालिका–३ रस्नालुस्थित निगालेमा वितरण हुँदै आएको खानेपानीमा स्वास्थ्यका लागि हानिकारक विषाक्त जीवाणु ‘कोलिफर्म’ भेटिएको छ ।
गाउँमा झाडापखालाको प्रकोप देखिएपछि गाउँपालिकाले निगालेस्थित पाँच ओटा पानीका मुहानको नमूना परीक्षणका लागि पठाएको थियो ।
परीक्षणका क्रममा दुई ओटा मुख्य मुहानको पानीमा कोलिफर्म जीवाणु रहेको पुष्टि भएको हो। ती मुहानका पानी स्थानीय ६० घरधुरीले नियमित रूपमा प्रयोग गर्दै आएका छन् ।
गोकुलगङ्गा–३ का वडाध्यक्ष नरविक्रम कार्कीका अनुसार, दूषित पानीकै कारण केही दिनअघि गाउँमा झाडापखालाका धेरै बिरामी देखिएका थिए । ‘हामीले परीक्षण गरायौँ, दुई ओटा मुहानको पानीमा विषाक्त कोलिफर्म भेटिएको पुष्टि भएको छ । त्यसपछि पानी उमालेर मात्रै खान र तत्काल शुद्धिकरणको प्रक्रिया थाल्न अनुरोध गरेका छौँ’, उहाँले भन्नुभयो ।
पालिकाले तत्कालै सावधानी अपनाउँदै दूषित पानीका स्रोतमा कीटाणुनाशक केमिकल प्रयोग गरिसकेको जनाएको छ । गाउँमा स्वास्थ्य सचेतना अभियान समेत सञ्चालन गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।