INSEC Online

📅 २०८३ जेष्ठ २१

ओखलढुङ्गा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

ओखलढुङ्गालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

राष्ट्रिय खोप निर्देशिकामा उल्लेख भएका सूचक पूरा गरेपछि ०८२ वैशाख २७ गते पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

कोशी प्रदेशका १४ जिल्लामध्ये यस वर्ष पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने ओखलढुङ्गा पहिलो जिल्ला भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अहमद मन्सरीले जिल्लाका आठ ओटै स्थानीय तहका ७५ ओटै वडामा १६ देखि ५९ महिना उमेर समूहका कूल ३ हजार १ सय ४० जना बालबालिकाहरूले राष्ट्रिय खोप तालिकाअनुसार पूर्ण खोप पाइसकेपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको बताउनु भयो ।

जन्मदेखि १५ महिना उमेर समूहका १ हजार ६ सय ८४ जना बालबालिकाहरूले पनि उमेर अनुसार नियमिति खोप पाइसकेका छन् ।

जन्मदेखि १५ महिनासम्मका बालबालिका सिद्धिचरण नगरपालिकामा ३ सय १९, चिशंखुगढीमा १ सय ६५, मानेभञ्ज्याङमा ३ सय १९, मोलुङमा १ सय ५३, सुनकोशीमा २ सय ६७, चम्पादेवीमा १ सय ७२, लिखुमा १ सय ३१ र खिजीदेम्बामा १ सय ५८ जना छन् ।

१६ देखि ५९ महिना उमेरका बालबालिका सिद्धिचरणमा २ सय ४१, चिशंखुगढीमा १ सय २८, मानेभञ्ज्याङमा ८ सय ५१, मोलुङमा ५ सय ८, सुनकोशीमा ४ सय ३६, चम्पादेवीमा ६ सय ८, लिखुमा २ सय ८१ र खिजीदेम्बामा ९७ जना छन् ।

जिल्लाका सबै बालबालिकाले खोप पाएको सूनिश्चितता भएकोले जिल्ला स्वास्थ्य प्रमुखको प्रस्ताव अनुसार जिल्ला खोप समन्वय प्रमुख एवम् समिति संयोजक टेकराज भट्टराईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गर्नु भएको हो ।

खोपले बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित रहन सघाउने भएकाले सबैको प्रयासमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको र मानव जीवनसँग जोडिएको यो विषय जिल्लाकै लागि एक उपलब्धि भएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गा खोप निरीक्षक उमा गुरुङले बताउनु भयो ।

एकपटक पूर्णखोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरूले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ ।

सरकारले जन्मेदेखि पाँचवर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा-रूबेला, पोलियो, जापानिज इन्सेफलाइटिसलगायतका १४ ओटा रोगविरूद्धको खोप निशुल्क उपलब्ध गराउँदै आएको छ ।

Photo 20250513 Okhadhunga

अन्य

भिडियो