१८ वर्षीया युवतीलाई होटलमा ल्याएर जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले पाँचखाल नपा–१ का ५८ वर्षीय उद्दबराज गिरीलाई माघ १८ गते गिरफ्तार गरेको छ ।
युथ फ्रेण्डसिप रेष्टुरेष्टका सञ्चालक गिरी लगायतले पीडित युवतीलाई ०८१ कात्तिक ९ गते होटलमा ल्यएर जबरजस्ती यौन कार्यमा लगाएको आरोप छ ।
सिन्धुपाल्चोक बाह्रविसे नपा–३ का २९ वर्षीय नविन श्रेष्ठ र पाँचखाल नपा–५ का २७ वर्षीय सुवर्ण तामाङलाई कात्तिक ११ गते नै प्रहरीले गिरफ्तार गरेको थियो ।
बाबुको मृत्युपछि आमाले अर्को विवाह गरेका कारण काम खोज्दै होटलमा पुगेकी युवतीलाई कात्तिक ९ गतेदेखि युथ फ्रेण्डसिप रेष्टुरेष्टमा काम लगाइएको थियो ।
होटलमा आउने प्रति ग्राहकहरूसँग १ हजार ५ सय रुपियाँ लिएर पीडितलाई एक हजार दिने गरिएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
पीडितले कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा मानव बेचबिखन तथा ओसारपसार शीर्षकमा उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण कात्तिक ११ गते धुलिखेल अस्पतालमा गरिएको थियो ।