सुनापति गाउँपालिका–१ को डहु माविमा वाग्मती प्रदेश सरकारले एक वर्षदेखि विद्यालय नर्स नपठाएपछि विद्यालय आफैँले नर्स र औषधि व्यवस्था गरी विद्यालय नर्स कार्यक्रम सुरु गरेको छ ।
जिल्लाको नमूना विद्यालयको रूपमा रहेको सो सामुदायिक विद्यालयले पटकपटक नर्स पठाइदिन माग गर्दा पनि प्रदेश सरकारले रिक्त रहेको स्कुल नर्स पठाएपछि विद्यालय आफैँले स्रोत व्यवस्थापन गरेर नर्स राखेको विद्यालयका प्रधानाध्यापक दलबहादुर बलले जानकारी दिनु भयो ।
‘प्रदेश सरकारले पठाएन । प्रदेशको कोटामा विद्यालय आफैँले नियुक्ति गर्न पनि नमिल्ने रहेछ, त्यसैले विद्यालय आफैँले मासिक ३० हजार रुपियाँ तलब तथा आवासको सुविधा दिने गरी स्कुल नर्स राखेका छौँ ।’-उहाँले भन्नु भयो ।
विद्यालयले प्राथमिक उपचारका औषधि पनि आफैँले खरिद गरेको छ । पहिलो चरणमा विद्यालयले १ लाख रुपियाँको औषधि खरिद गरेको बलले बताउनु भयो । ‘जनशक्ति आफ्नै, सामग्री खरिद अनि लगानी आफ्नै, आवश्यकताले निम्त्याएको सबै कुरा पूरा गर्नै पर्यो, अहिले २४ घण्टे सेवा सञ्चालन गरेका छौँ ।’-उहाँले भन्नु भयो ।
छात्रावास समेत सञ्चालनमा रहेको सो विद्यालयमा २ सय ८२ जना विद्यार्थीहरू छात्रावासमा बसेर अध्ययन गरिरहेका छन् । विद्यालयमा ५ सय ५० जना भन्दा बढी विद्यार्थी अध्ययन गर्दछन् । ‘दिउँसो बिरामी पर्दा त स्वास्थ्यचौकी पनि लैजान सकिन्छ तर छात्रावासमा बस्ने विद्यार्थी साँझ बिहान बिरामी पर्दा समस्या भयो । त्यसैले आफैँले नर्सको व्यवस्थापन गर्नुपर्ने बाध्यता आइलाग्यो ।’-प्रधानाध्यापक बलले भन्नु भयो ।