INSEC Online

📅 २०८३ जेष्ठ २१

महिला सुरक्षाको लागि उपमेयरसँग सुत्केरीदेखि छोरी प्रोत्साहन कार्यक्रमसम्म

मन्थली नगरपालिकाले महिलाको सुरक्षाको लागि उपमेयरसँग सुत्केरी कार्यक्रमदेखि छोरी प्रोत्साहन कार्यक्रमसम्म सञ्चालन गरेको छ ।

उपमेयरसँग सुत्केरी कार्यक्रम अन्तर्गत सुत्केरीलाई पोसिलो खानेकुरा वितरण गर्ने कार्यक्रम रहको मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले जानकारी दिनुभयो । महिलाको स्वास्थ्य सुरक्षाका लागि यो कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनु भयो ।

नियमित आठ पटक स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण गराउने तथा स्वास्थ्यकर्मीको सल्लाहमा नियमित आइरन चक्की लगायतका स्वास्थ्यबर्धक औषधि सेवन गर्ने महिलालाई वडाको सिफारिस र जन्म दर्ताका आधारमा नगद २ हजार ८ सय रुपियाँका साथै स्वास्थ्यवर्धक खाने कुरा उपलब्ध गराउने गरिएको बस्नेतले बताउनु भयो ।

नगरभित्र छोरी जन्माउने आमालाई प्रोत्साहित गर्न प्रोत्साहन भत्ता स्वरुप थप ३ हजार रुपियाँ उपलब्ध गराउने गरिएको बस्नेतले जानकारी दिनु भयो । मन्थली अस्पतालमा नियमित स्वास्थ्य जाँच गराउने र बच्चा जन्माउने १ सय ६३ जना आमाहरूलाई यस वर्ष नगद सहितको सामग्री हस्तान्तरण गरिसकिएको बस्नेतले बताउनु भयो ।

सुत्केरी आमाहरुलाई एक लिटर घिउ र तोरीको तेलसँगै शिशुका लागि अत्यावश्यक विभिन्न सामग्री सहितको किटबक्स समेत नगरपालिकाले उपलब्ध गराउने गरेको बस्नेतले बताउनु भयो । यस बाहेक मन्थलीमा सुत्केरी हुन नसकेर काठमाडौँ पठाउनु पर्ने गर्भवतीको लागि एम्बुलेन्स खर्च समेत नगरपालिकाले बेहोर्दै आएको छ ।

अन्य

भिडियो