शैक्षिकसत्रको बिचमा विद्यालयले विद्यार्थी निकालिदिएपछि सुनापति गाउँपालिका–२ दिमिपोखरीको श्री माध्यमिक विद्यालय मन्दर मेलचौरका कक्षा ९ र १० का विद्यार्थी अलपत्र परेका छन् ।
श्री माध्यमिक विद्यालय मन्दर मेलचौरमा कक्षा ९ र १० मा अध्ययन गरिरहेका २७ जना विद्यार्थी शैक्षिकसत्रको बिचमा विद्यालय बन्द भएपछि अलपत्र परेका हुन् । उनीहरू अब कुन विद्यालयमा पढ्न जाने भन्ने अन्योलमा छन् ।

चालु शैक्षिकसत्रबाट सो विद्यालयलाई गाउँपालिकाले माध्यमिक तहबाट घटुवा गरेर आधारभूत तहमा झारेको भए पनि विद्यालय व्यवस्थापन समितिले ९ र १० कक्षामा पनि भर्ना लिने निर्णय गरेको थियो । तर, गाउँपालिकाले अदालतको आदेशबाट विद्यालयको तह घटुवा गरिएको भन्दै सो विद्यालयमा अध्यापन गर्ने ११ जना शिक्षकहरूको ०८१ बैशाखदेखि कात्तिक महिनासम्मको तलब रोकेपछि शिक्षकहरूले पठनपाठन नै रोकेका थिए ।
शिक्षकहरूले पठनपाठन रोकेपछि जिल्ला शिक्षा विकास समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेल, गाउँपालिकाका जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समिति बिचको छलफलमा अदालतबाट अर्को आदेश आउँदासम्मको लागि कक्षा ८ सम्ममात्र पठनपाठन गर्ने सहमति भएको गजुरेलले बताउनु भयो ।
सो सहमतिपछि शिक्षकहरूको तलब निकासा भएको छ तर ९ र १० का विद्यार्थीले भने शैक्षिक सत्रको बिचमा विद्यालय छाड्नु परेको छ ।
सो विद्यालयबाट निकालिएका विद्यार्थीलाई तत्काल नजिकैका विद्यालयमा भर्ना गरेर पढाउनु पर्ने गजुरेल बताउनुहुन्छ । शैक्षिक सत्रको बिचमा पढिरहेको विद्यालय छाडेर नयाँ विद्यालयमा जानु पर्दा विद्यार्थी भने अलपत्र परेका छन् ।