जिल्लास्थित स्थानीय तहहरूले प्रभातफेरीलगायत कार्यक्रम आयोजना गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरुवात भएको जनाएका छन् ।
मङ्सिर १० गतेदेखि मङ्सिर २५ गतेसम्म मनाइने १६ दिने अभियानको पहिलो दिन मङ्सिर १० गते बिहान सदरमुकाम धुलिखेलमा प्रभातफेरीको आयोजना गरी शुभारम्भ गरिएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), माइती नेपाल, गैसस महासङ्घ र धुलिखेल नगरपालिकाको व्यानर र प्लेकार्ड बोकेर धुलिखेल सरस्वती बजार परिक्रमा गरिएको थियो । प्रभातफेरी कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु, उपप्रमुख निराजन जङ्गम र मानव अधिकार सञ्जालको संयोजक भोजराज तिमल्सिना लगायतको सहभागिता थियो ।प्रभातफेरी कार्यक्रमपछि धुलिखेल नगरपालिकाले प्यानल डिस्कसनको कार्यक्रम आयोजना गर्यो ।

नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामाले नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच अभियानको शुभारम्भ गर्नु भयो । सेतो रिवन वितरण र पानसमा दीप प्रज्वलन गरी शुभारम्भ भएको कार्यक्रममा नगरपालिकामा हिंसाको अवस्थाको विषयमा विष्लेषण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख लामाले १६ दिने अभियान नगरपालिकाको सबै वडामा आयोजना गरिने र अन्तिम दिन भव्य कार्यक्रमकाबिच मानव अधिकार दिवस मनाइने उल्लेख गर्नु भयो ।

पछिल्लो समय घरेलु र लैङ्गिक हिंसाका घटना बढ्दो अवस्थामा रहेको कुरा मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले उल्लेख गर्नु भयो । यहाँको हिंसाको अवस्थाको विषयमा तिमल्सिनाले कार्यपत्र प्रस्तुत गर्नु भयो ।

कार्यक्रममा बताइए अनुसार गएको एक वर्षमा जिल्ला अदालतमा सम्वन्ध विच्छेदका ६ सय १९ र अंशसम्बन्धी ४ सय ५४ ओटा मुद्दा परेका थिए ।
डोमिनिकन गणराज्यमा नोभेम्बर २५ मा तीन जना दिदिबहिनी मारिएपछि सन् १९८१ मा ल्याटिन अमेरिकाबाट मनाउन थालिएको यो दिवस २०५४ सालदेखि नेपालमा मनाइँदै आइएको हो ।
