रामेछाप जिल्लाका निर्माणाधीन १७ ओटा स्वास्थ्य संस्थाका भवन समयमा नै निर्माण नहुँदा स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ भएको छ ।
विभिन्न बहानामा निर्माणको जिम्मा लिएका निर्माण कम्पनीले समयमा काम नगर्दा स्वास्थ्य संस्थाका भवनहरू अलपत्र छन् । सघन सहरी तथा भवन निर्माण कार्यालयमार्फत निर्माण निर्माण सुरु गरिएका ती भवनहरूमा समयमा काम नहुँदा लेउ लागेर झार उम्रिएका छन् । ती भवका निर्माण कहिले सम्पन्न हुने हुन् भन्ने अन्यौलता देखिएको छ ।
निर्माणाधीन कुनै भवनका काम अन्तिम चरणमा पुगेका छन् भने कुनै भवनमा धेरै काम बाँकी छन् । २०७२ को भूकम्पले क्षति पुगेका रामेछापका १९ ओटा स्वास्थ्य चौकी पुनर्निर्माणको लागि ठेक्का पाएको निर्माण व्यवसायीले बिजुलीकोट र सालु स्वास्थ्य चौकी निर्माण सम्पन्न गरी बुझाएको छ । अन्य स्वास्थ्य चौकी भवन निर्माणको काम त्यतिकै अलपत्र छन् ।

तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) ले ठेक्का लगाएका ती भवनहरूको निर्माण कार्य सघन सहरी तथा भवन निर्माण आयोजनाले हेर्दै आएको छ । आयोजनाका अनुसार निर्माण व्यवसायीलाई पटक पटक पत्राचार र बैठक गर्दा समेत काममा प्रगति देखा परेको छैन ।
पटकपटक म्याद थप भएका ती स्वास्थ्य चौकीहरूको निर्माण पूरा नहुँदा दुर्गम क्षेत्रमा सञ्चालनमा रहेका स्वास्थ्य चौकीहरूले साँघुरो कोठामा स्वास्थ्य सेवा सञ्चालन गर्नुपरेको छ ।
भारत सरकारको सहयोगमा जिल्लाको गौश्वारा, राकाथुम, गागल, चिसापानी, चनखु, तिल्पुङ, दुरागाउँ, कुभुकास्थली, गोठगाउँ, हिमगङ्गा, रामपुर, ओख्रेनी, भलुवाजोर, गेलु, चुचुरे, मझुवा, पिङखुरी, डडुवा लगायतका स्थानमा आधुनिक स्वास्थ्य चौकी भवन निर्माणको काम अघि बढेको थियो । निर्माण व्यवसायीले काम नगरेपछि भारत सरकारले समेत यसमा चासो राखेको छ ।

भवन निर्माणका लागि दुईओटा ठेक्का पाएको स्काई विवश जेभीलाई सघन सहरी तथा भवन निर्माण आयोजनाले पटक पटक ठेक्का सम्पन्न गर्नका लागि पत्राचार गरेको भए काम हुन नसकेको आयोजना प्रमुख समन सालिकेले बताउनुभयो ।
स्वास्थ्य चौकी भवनको काम नसकिँदा साँघुरो भवनका सेवा सञ्चालन गर्नुपरेको मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठले बताउनु भयो । यसले सेवा प्रवाहमा समेत समस्या भएको उहाँको भनाइ छ ।