१८ वर्षीया युवतीलाई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला बाह्रविसे नपा–३ का २९ वर्षीय नविन श्रेष्ठ र पाँचखाल नपा–५ का २७ वर्षीय सुवर्ण तामाङलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ ।
बाबुको मृत्युपछि आमा अन्यत्र विवाह गरेका कारण परिवार पाल्नका लागि केही दिन अघि होटलमा काम गर्न आएकी युवतीलाई कात्तिक ९ गते पाँचखाल नपा–५ को युथ फ्रेण्डसिप रेष्टुरेष्टमा काम लगाइएको थियो । होटलमा आउने प्रति ग्राहक १ हजार ५ सय रुपियाँ लिएर पीडितलाई १ हजार रुपियाँ दिने गरिएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
होटल सञ्चालक पाँचखाल नपा–१ का ५८ वर्षीय उद्धवराज गिरी भने फरार रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी मिनबहादुर घलेले बताउनु भयो ।
पीडित युवतीले कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा मानव बेचविखन तथा ओसारपसार शीर्षकमा उजुरी दिएकी छन् । पीडितको स्वास्थ्य परीक्षण कात्तिक ११ गते धुलिखेल अस्पतालमा गरिएको छ ।