INSEC Online

📅 २०८३ जेष्ठ २१

अस्फल्ट उद्योगबाट निस्किने धुवाँले प्रदुषित बनाएको भन्दै रिट निवेदन

वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्क छेउमा विगत दुई वर्षदेखि खड्का निर्माण सेवाले अस्फल्ट उद्योग सञ्चालन गर्दै आइरहेको र उक्त उद्योगबाट विभिन्न कच्चा पदार्थहरू पकाएर सडक कालोपत्रेका लागि अलकत्रा बनाउँदा त्यसबाट दैनिक निस्किने धुवाँले वीरेन्द्रनगर क्षेत्रलाई नै प्रदुषित बनाएको भन्दै इन्सेकको अगुवाईमा उच्च अदालत सुर्खेतमा रिट निवेदन दर्ता गरिएको छ ।

इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी, अधिवक्ता प्रकाश बाबु ऐडी र सामाजिक अभियन्ता नवराज बोहराले ०८१ कात्तिक ११ गते उक्त उद्योग विरुद्ध अन्तिरम आदेश सहितको परमादेश लगायतका आदेश जारी हुनुपर्ने भन्दै वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, सुर्खेत उपत्यका नगर विकास समिति, जिल्ला प्रशासन कार्यालय, वीरेन्द्रनगर नगरपालिका ६ नम्वर वडा कार्यालय र खड्का निर्माण सेवा बाँकेलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गरेका हुन् ।

रिट निवेदकहरूले वायु प्रदूषणले प्रत्येक वर्ष गम्भीर चिन्ताको विषय बन्दै गइरहेको परिप्रेक्षमा प्रदुषित वातावरणकै कारण हृदयरोग, श्वासप्रश्वास सम्बन्धी दीर्घरोग र क्यान्सरजन्य रोगहरू मानवको मृत्युका प्रमुख कारण बनेको भन्दै नेपालको संविधान २०७२ र वातावरण संरक्षण नियमावली २०७७ लाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै हरेक मुलुकले स्वच्छ वातावरणलाई कानुनी रूपमा नै मानव अधिकारसँग जोडिरहेको र वातावरणीय प्रदूषण वा ह्रासबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुने कुरा समेत संविधानमा उल्लेख भएको अवस्थामा उक्त उद्योगबाट संवैधानिक व्यवस्था समेतलाई अनदेखा गरेको कार्य निकै खेदपूर्ण रहेको रिटमा उल्लेख गरिएको छ ।

अन्य

भिडियो