इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासतमा रहेका रत्ननगर नगरपालिका–१३ का ४५ वर्षीय महमद क्यामोदिनको मृत्यु भएको छ । क्यामोदिनको मृत्यु कात्तिक ३ गते बिहान भएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश रिमालले बताउनु भयो ।
आपराधिक लाभ कसुरमा क्यामोदिनलाई कात्तिक १ गते गिरफ्तार गरी अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको थियो ।
बिहान ४ः४५ बजेको समयमा थुनुवा कक्षको बाथरुमको ढोका छेउमा घोप्टो अवस्थामा महमद क्यामोदिन फेला परेको प्रहरीको भनाइ छ ।
उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको एसपी रिमालले बताउनु भयो । शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । पोष्टमार्टम भएको छैन ।