गत भदौ ८ गते आएको बाढी पहिरोले झोलुङ्गे पुल बगाएपछि दोरम्बा शैलुङ गाउँपालिका-१ डडुवाका विद्यार्थीहरुलाई विद्यालय आउजाउ गर्न समस्या भएको छ ।
डडुवाको मझुवा, पाखाटोल, पात्ले, नागी लगायतको क्षेत्रमा गत भदौ ८ गतेको वर्षाले आएको बाढी पहिरोका कारण सिङ्गो गाउँ नै बस्न नहुने गरी क्षतविक्षत बनाएको छ भने बाढी र पहिरोले तीनधारे खोलामा झोलुङ्गे पुल पनि बगाएको छ ।
खोलाले पुल बगाउँदा शैलुङदेखि, पात्ले, मझुवा पाखाटोल लगायतका क्षेत्रका विद्यार्थीलाई विद्यालय जान समस्या भएको छ । विद्यार्थी मात्र होइन ती गाउँबाट वडा कार्यालय तथा स्वास्थ्य चौकी जाने सेवाग्राहीलाई पनि पुल नहुँदा समस्या भएको वडा सदस्य मङ्गले थामीले जानकारी दिनु भयो ।

पात्ले, मझुवा लगायतको क्षेत्रबाट डडुवाको सुर्के माविमा दैनिक पढ्न जाने ३२ जना विद्यार्थी छन् । उनीहरु अहिले काठको फड्के तरेर ज्यान जोखिममा राखी विद्यालय गइरहेका छन् । ‘खोलामा काठ तेर्स्याएर फड्के बनाएका छौँ । त्यो जोखिमपूर्ण छ । बच्चाहरु कतिबेला खस्ने हुन् कि भन्ने डर छ ।’-थामीले भन्नु भयो ।
सो खोलामा तत्काल पुल हाल्नु पर्ने स्थिति रहेको दोरम्बा शैलुङ गाउँपालिका-१ का वडाध्यक्ष प्रेम लामा बताउनुहुन्छ । यस विषयमा सम्बन्धित निकायमा जानकारी गराइसकेको भए पनि कुनै काम अघि नबढेको उहाँले गुनासो गर्नु भयो ।
विपन्न र अल्पसंख्यक थामी समुदायको बसोबास रहेको डडुवाको पात्ले, पाखाटोल र मझुवामा पहिरोको कारण ४३ घर परिवार जोखिममा परेका छन् । पानी रोकिएपछि १४ घर परिवार आफ्नो घरमा फर्किए पनि घरमा बस्नै नमिल्ने अवस्था भएपछि अहिले पनि २७ घर परिवार सामूहिक रुपमा टेन्ट र त्रिपाल राखेर बसेका छन् ।

त्रिपालमुनिको बसाइले चिसो लाग्दा बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी बिरामी पर्न लागेका छन् । त्रिपालको चिसो तथा असन्तुलित खानाको कारण बच्चा र आफू बारम्बार बिरामी पर्ने गरेको दुई महिनाकी सुत्केरी मञ्जु थामी बताउनुहुन्छ । ‘बच्चा रातभरि खोक्छ, आफूलाई पनि रुघा, खोकी, पखाला लागिरहन्छ’, मञ्जुले भन्नु भयो ।
चिसो र खानपिनको उचित व्यवस्था नमिल्दा बच्चा, बुढाबुढी र सुत्केरीलाई पखाला लाग्ने, शरीर सुन्निने, ज्वरो आउने, रुघाखोकी लाग्ने समस्या देखिएको अर्की तीन महिनाकी सुत्केरी सीता थामीले बताउनु भयो ।
पहिरोबाट विस्थापितलाई अस्थायी आवास निर्माण गरी सुरक्षित ठाउँमा सार्न सम्बन्धित निकायले चासो नदिएको वडा सदस्य मङ्गले थामी बताउनुहुन्छ । उनीहरुको व्यवस्थापनको बारेमा गाउँपालिका लगायतका निकायमा अनुरोध गरेको भए पनि चासो नदिइएको उहाँले बताउनु भयो ।

कतैबाट सहयोग नजुटेपछि दशैँसम्म अस्थायी टहरा बनाएर पारिवारिक बसोबासको व्यवस्था मिलाउन वडा कार्यालयले प्रयत्न गरिरहेको वडा नं १ का वडाध्यक्ष प्रेम लामाले बताउनु भयो । गैरसरकारी संस्था महासङ्घ नेपाल रामेछापले विभिन्न सहयोगी साझेदार संस्थाहरुसँग सहकार्य गरी विस्थापित बस्तीमा ५४ बण्डल जस्तापाता पुर्याएको छ । ‘स्थानीयले काठ काटेर ठिक्क पारेका छन्, दसैँसम्म पारिवारिक बसाई गराउने प्रयत्नमा छौँ’ ।-लामाले भन्नु भयो ।