उमाकुण्ड गाउँपालिकाको स्वास्थ्य संस्था, विद्यालय र वडा कार्यालयको खानेपानी धारामा दिसामा हुने जीवाणु ‘कोलिफर्म’ भेटिएको छ ।
स्वास्थ्य संस्था, विद्यालय र वडा कार्यालयले प्रयोग गरिरहेका १५ ओटा धाराको खानेपानीको नमूना परीक्षण गर्दा दिसामा हुने जीवाणु ‘कोलिफर्म’ भेटिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
देशमा हैजाको प्रकोप फैलिएपछि उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देलदेखि वडा नं ७ भुजीसम्मका स्वास्थ्य संस्था, विद्यालय र वडा कार्यालयका गरी १५ ओटा धाराको खानेपानी उपत्यका खानेपानी लिमिटेड पानी/ढल गुणस्तर महाशाखा, काठमाडौँमा नमुना परीक्षण गर्दा सबै धाराको पानीमा दिसामा हुने जीवाणु ‘कोलिफर्म’ तथा ‘इकोली’ भेटिएको गाउँपालिको जनस्वास्थ्य निरीक्षक अभिजीत सुनुवारले जानकारी दिनु भयो ।
खानेपानीमा दिसामा हुने जीवाणु भेटिएकाले हैजा फैलन सक्ने भन्दै गाउँपालिकाले पानी पिउँदा उमालेर मात्रै पिउन आग्रह गरेको छ ।