फिक्कल गाउँपालिका–२ मा रहेको श्री माध्यमिक विद्यालय चण्डिभञ्ज्याङ सुम्नाम्सुन्तलेमा साउन २३ गते राति अज्ञात पक्षद्वारा तोडफोड गरी विद्यालयका सामान चोरी भएको छ ।
विद्यालयमा राति आएका अज्ञात पक्षले विद्यालय तोडफोड र चोरी गरेको विद्यालयका प्रधानाध्यापक टेकबहादुर थापाले बताउनु भयो । विद्यालयमा तोडफोड गरी सामग्री समेत चोरी भएको जानकारी साउन २४ गते मात्रै थाहा हुन आएपछि घटनाका सम्बन्धमा वडा कार्यालय, गाउँपालिका र खाङसाङ प्रहरी चौकीलाई जानकारी गरिएको उहाँले बताउनु भयो ।
साउन २३ गते विद्यालय बन्द गरेर साउन २४ गते बिहान ९ बजे विद्यालय खोल्न आउँदा विद्यालयमा चोरी भएको थाहा भएको थियो ।

अज्ञात पक्षले विद्यालयको प्रशासन शाखामा लगाएको ताला तोडेर कार्यालयमा रहेका कम्प्युटर, ल्यापटपलगायत जिन्सी सामग्री गरी झण्डै २५ लाख रुपियाँ बराबरको क्षति पुर्याएको फिक्कल गाउँपालिका–२ का वडा अध्यक्ष शङ्करबहादुर भण्डारीले बताउनु भयो ।
पाँच ओटा कोठामा रहेका स्मार्ट बोड, टिभि, कम्प्युटर ल्याव, प्रोजेक्टर, साइन्स ल्याब, पुस्तकालय, क्यान्टिन तोडफोड गरेको वडाध्यक्ष भण्डारीले जानकारी दिनु भयो । विद्यालयका चार ओटा ल्यापटपसमेत चोरी भएको विद्यालयका प्रधानाध्यापक टेकबहादुर थापाले बताउनु भयो ।
विद्यालयले साउन २४ गते बिहान विद्यालयमा चोरी भएको जानकारी गराएपछि प्रहरीले घटनास्थलको मुजुल्का तयार पारेको र आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोबिन्दराज काफ्लेले जानकारी दिनु भयो ।