विराटनगर महानगरपालिका-१५ रानीमा प्रहरी र प्रर्दशनकारीबिच झडप भएको छ ।
हिन्दू धार्मिक संस्थाले विराटनगर महानगरपालिका–१५ स्थित राम जानकी मन्दिरका लागि ०८१ वैशाख ५ गते आयोजना गरेको धार्मिक र्यालीका क्रममा हिन्दू र मुस्लिम समुदायका युवाबिच झडप भएको थियो ।
सो झडपको घटनापछि जिल्ला प्रशासन कार्यालयले वैशाख ६ गते अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि सभासम्मेलनमा रोक लगाएको थियो ।
प्रशासनको आदेश अवज्ञा हुने गरी प्रदर्शनका लागि वैशाख ६ गते साँझ भेला विराटनगर महानगरपालिका-१५ का स्थानीय भेला भएपछि प्रहरीले हटाउन खोजेको थियो ।
प्रहरीको आदेशलाई अटेर गरेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज कार्कीले बताउनु भयो ।
प्रहरीलाई ढुङ्गामुढा गरेपछि प्रहरीले प्रदर्शनकारी विराटनगर महानगरपालिका-१५ का २० वर्षीय रितेश झा र २३ वर्षीय रञ्जीत झालाई गिरफ्तार गरेको छ । झडपमा कोही घाइते नभएको प्रहरीले जनाएको छ ।
गिरफ्तारीमा परेका दुई जनालाई केही सोधपुछपछि रिहा गरिएको एसपी कार्कीले बताउनु भयो ।
घटनापछि विराटनगर महानगरपालिका-१५ रानी क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रशासनले विना अनुमति कुनै पनि सभासम्मेलन गर्न रोक लगाएको छ ।