डाक्टरहरूको आन्दोलनले अस्पतालमा सेवा बन्द भएपछि पशुपति चौलागाई स्मृति अस्पताल चरिकोटमा आएका बिरामीले सेवा पाउन नसकी अलपत्र परेका छन् । ०८३ साउन ९ गते बिरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट र अस्पतालमा भएको तोडफोड घटनापछि नेपाल चिकित्सक संघले एक बिज्ञप्ती जारी गरी साउन १२ गते देशभरिका सरकारी अस्पतालहरूमा आकस्मिक बाहेकका स्वास्थ्य सेवाहरू बन्द गरेको घोषणा गरेको थियो । स्वास्थ्य सेवा बन्द गर्ने घोषणाको जानकारी नपाएका बिरामीहरु चरिकोट स्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा पुगेर फर्किन बाध्य भएका छन् ।
उपचारका लागि अस्पताल आएका भिमेस्वर नगरपालिका–७ कि सन्तमाया तमाङ मुटुको रोगको नियमित जाँचको लागि ५ सय रुपियाँ टेम्पो भाडा तिरेर डाक्टरले तोकेको मितिमा नै नियमित जाँच गर्न आएको बताउनु भयो ।
त्यसैगरी भीमेश्वर नगरपालिका–६, सिम्पानीकी कल्याणी थापा पनि नसा सम्बन्धी रोगको नियमित उपचारका लागि अस्पतालमा आएको बताउनु भयो । तर, अस्पताल प्रशासनले ओपिडी सेवा बन्द भएको सूचना टाँस गरेको अस्पतालमा आएर थाहा पाएको बताउनु भयो । मुटु रोगी सन्तमायाले अब उपचार कहिले हुने भन्ने अनिश्चित भएको दु:खेसो पोख्नु भयो।