अज्ञात पक्षले नारायणी नदी किनारमा सञ्चालन गरिने महत्वका लागि निर्माण गरिएको जनजाती समूदायको नमूना बस्तीमा चैत २६ गते राती आगजनी गरेको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ ।
महोत्सवस्थलमा निर्मित दुरा जातिको घरबाहेक अन्य सवै जातिका घर जलेर नष्ट भएको छ । आगजनी पछि दमकलको सहायतामा आगो नियन्त्रणमा लिएपछि दुरा जातिको घर जोगिएको आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष महेन्द्र दुराले जानकारी दिनु भयो ।
नदी किनारमा ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ आयोजना गर्दा निर्माण गरिएका ११ वटा घरमध्ये दशवटा घर जलेर नष्ट भएको छ । उक्त स्थानमा गुरूङ, मगर, दुरा, बोटे, कुमाल, दराई, थारू, तामाङ, चेपाङ, राई र भुजेल जातिका घर निर्माण भएका थिए ।
अध्यक्ष दुराका अनुसार ११ जातिको छुट्टाछुट्टै घर निर्माण गर्दा करिब १२ लाख रूपियाँ खर्च भएको छ । मजदुरको ज्यालासहित जोडने हो भने करिब १५ देखि १६ लाख रूपियाँको हाराहारीमा खर्च भएको उनको अध्यक्ष दुराको भनाइ छ । चितवनमा संगठित १७ वटा आदिवासी जनजातिमध्ये ११ वटा जातिले महोत्सवको लागि घर निर्माण गरेका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा भएको घटनाप्रति निन्दा व्यक्त गरेको छ । महासंघले उक्त घटनामा संलग्नको खोजी गरी कानुनी दायरामा ल्याउन सुरक्षा निकायसँग मागसमेत गरेको छ ।
नेफिनले घटनाका सम्बन्धमा चैत २६ गते वडा प्रहरी कार्यालय, नारायणघाटमा दोषीको खोजी गरी कारबाहीको माग गर्दै उजुरी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रीराम भण्डारीले घटनाको अनुसन्धान भइरहेको बताउनु भयो ।
