वीरगंज महानगरपालिका–१९ स्थित गोल्डेन गल्ब बोर्डिङ्ग स्कुलमा कक्षा तीनमा अध्ययनरत १२ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही स्कुलका शिक्षक ३२ वर्षीय शशि यादवलाई ०८० पुस २४ गते गिरफ्तार गरेको छ ।
शिक्षक यादवको कुटपिटबाट घाइते भएका बालकको वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । पीडित बालकको आँखा र शरिरको विभिन्न भागमा गम्भिर चोट लागेको छ ।
दुई दिन विद्यालय अनुपस्थित हुनुको कारण सोद्धै पुस २४ गते शिक्षकले पाइपले कुटपिट गरेको घाइते बालकले बताए । उनले भने “म बिरामी भएको कारण दुई दिन विद्यालयमा उपस्थित हुननसकेको भन्दा भन्दै पनि सरले कुटपिट गर्नु भयो र घाइते हुँदा समेत उहाँले उपचार गराउनु भएन” ।
दिउसो १ बजे शिक्षकको कुटपिटबाट घाइते भएका बालक अपरान्ह ४ बजे घर फर्केपछि मात्र घटना बारे थाहा भएको घाइते बालकका काकाले बताउनु भयो । त्यसपछि मात्र घाइतेको स्वास्थ्य उपचारका लागि नारायणी अस्पताल लगेका उहाँले बताउदै आरोपित शिक्षक र स्कुल विरुद्ध प्रहरीमा उजरी दिने जानकारी दिनु भयो ।
घटनाको जानकारी हुनासाथ आरोपित शिक्षकलाई गिरफ्तार गरी घटना बारे थप अनुसन्धान गरिरहेको अस्थायी प्रहरी पोष्ट बिन्दवासिनीका असई रामबाबु गुप्ताले बताउनु भयो ।
त्यस्तै, शिक्षकबाट गल्ती भएको स्कुलका सञ्चालक लालबिहारी यादवले बताउनुहुँदै घाइते बालकको उपचार खर्च बेहोर्ने र घटना बारे एकआपसमा बसेर छलफल गरी समाधान गर्ने उहाँले बताउनु भयो ।
हाल वीरगंज महानगरपालिकाले नगरपालिका अन्तर्गतका सामुदायिक तथा निजी विद्यालयहरूमा जाडो विदा दिएको छ । तर, केही निजी विद्यालयहरूले महानगरपालिकाको निर्देशनलाई अवज्ञा गर्दै विद्यालयहरू संचालन गर्दै आएका छन् ।