पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत टिकापुर नगरपालिकामा पाँच वर्षमुनिका बालबालिकाको पोषण स्क्रिनिङ् गर्दा ३ सय ४७ बालबालिका कुपोषणको उच्च जोखिममा रहेको पाइएको छ ।
टिकापुर नगरपालिकाको नौ ओटै वडाको बालबालिकहरुको पोषण स्क्रिनिङ अभियानमा १ हजार ८ सय ६४ बालबालिका स्क्रिनिङ् गर्दा ३ सय ४७ बालबालिका कुपोषणको उच्च जोखिममा रहेको पाइएको हो ।
पोषण लेखाजोखा तथ्याङ्क अनुसार पाँच वर्षमुनिका ३ सय ४७ बालबालिका कुपोषणको उच्च जोखिम, ७५ जना बालबालिका शिघ्र कुपोषण र २ सय ७२ बालबालिकाहरुमा मध्यम कुपोषण देखिएको टिकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताउनु भयो ।
उहाँले भन्नुभयो—‘बालबालिकामा कुपोषण देखिन थालेपछि पोषण सुधारलाई थप प्राथमिकतामा राखेर नौ ओटै वडाका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई पोषण सुधारको तालिम दिने, समुदायस्तरमा महिला स्वास्थ्य स्वयम्सेविकामार्फत गर्भवती अवस्थादेखि पोषण सम्बन्धी ज्ञान, व्यवहार परिवर्तन र सेवामा पहुँच बढान आवश्यक छ । पोषण सुधारका खानासम्बन्धी जनचेतना फैलाउने र वडाको स्वास्थ्य संस्थामा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिका र आमाको पोषण अवस्था पहिचान, मुल्याङ्कन र आवश्यक उपचारमा विषेश ध्यान दिने पालिकाको योजना रहेको छ ।’
टीकापुर नगरपालिका–५ का महिला स्वास्थ्य स्वयंसेविका चन्द्रादेवी चौधरीले पोषण सुधारका लागि हजार दिने आमालाई प्राथमिकतामा राखेर परामर्श दिने, स्वास्थ्य सेवा लिन सघाउने गरेको र गर्भवती भएको थाह पाएदेखि खानपान, रहनसहन, नियमति जाँचबारे जानकारी दिने तथा परिवारलाई जिम्मेवार बनाउने गरेको बताउनु भयो ।
टिकापुर नगरपालिका—२ सीतापुरका स्वयंसेविका सरस्वती चौधरीले घरघरमा गई पोषणसम्बन्धी सचेतना फैलाउने, गर्भावस्थाको स्याहार, जाँच लगायतका कुरा बारे सचेत गराउने, घरवरिपरि भएका पोषिला खानेकुराको जानकारी दिने र खान सल्लाह दिने गरेको बताउनु भयो ।
भिटामिन ए, जुकाको औषधि तथा अन्य पोषण कार्यक्रम सञ्चालनमा सघाउने गरेको साथै स्वास्थ्यकर बानी बारे समेत जानकारी दिने, पोषणयुक्त खानपानबारे जानकारी दिने गरेको उहाँले बताउनु भयो ।
टीकापुर नगरपालिका—४ का स्वमंसेविका दुर्गा पराजुलीले गर्भावस्थादेखि बच्चा दुई वर्षको नहुञ्जेलसम्म आमा र बच्चाको स्यहार र पोषण सुधार बारे जानकारी दिने गरिएको बताउनु भयो ।
टीकापुर नगरपालिका—४ का वडाध्यक्ष लालविर चौधरीले पालिकाले पोषण सुधारमा परिवारलाई जिम्मेवार बनाउन सुत्केरीलाई पोषण सामग्री दिने गरेको बताउनु भयो । ५० जना सुत्केरीलाई पोषण सामग्रीमा आधा किलो घ्यू र एक क्यारेट कुखुराको अण्डा वितरण गरिएको उहाँले बताउनु भयो ।