स्वार्पुनाथ गाउँपालिका–३ राया गाउँकी ४० वर्षीया नानी कामीको सुत्केरी भएको २० दिनमै मृत्यु भएपछि उनका जुम्ल्याहा शिशुहरू अलपत्र परेका छन् । मृतकका आफन्त लालधन टमटाका अनुसार परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले सुत्केरी अवस्थामा आवश्यक पोषण, उपचार र उचित स्याहार नपाउँदा नानीको मृत्यु भएको हो । उहाँका अनुसार सुत्केरीले तातो र पोसिलो खानेकुरा खान पाएकी थिइनन् भने चिसोबाट जोगिन पर्याप्त न्यानो र सुरक्षित बसोबासको व्यवस्था पनि थिएन ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले कडा निमोनियाका कारण नानीको मृत्यु भएको जानकारी दिनुभयो । स्थानीयका अनुसार उनी केही दिनदेखि बिरामी भए पनि आर्थिक अभावका कारण समयमै स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन सकेकी थिइनन् ।
नानीको मृत्युपछि उनका जुम्ल्याहा शिशुको पालनपोषणमा समस्या उत्पन्न भएको छ । घरमूलीको स्वास्थ्य अवस्था पनि कमजोर रहेकाले शिशुको स्याहार–सुसारमा थप कठिनाइ भएको स्थानीयले बताएका छन् ।
खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले हाल स्थानीयवासीको सहयोगमा जुम्ल्याहा शिशुको हेरचाह भइरहेको बताउनु भयो । तर शिशुहरूको जीवनरक्षा र उचित पालनपोषणका लागि थप सहयोग आवश्यक रहेको भन्दै उहाँले सहयोगी हातहरू अघि बढ्न आग्रह गर्नुभएको छ ।
मृतक नानी कामीले यसअघि पाँच सन्तान जन्माइसकेकी थिइन् । आर्थिक अभाव, पोषणको कमी र उपचारमा पहुँच नहुँदा भएको यो घटनाले दुर्गम क्षेत्रमा मातृ तथा शिशु स्वास्थ्य सेवाको अवस्थालाई चित्रण गरेको छ ।