१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै सिरहा नगरपालिका–११ का ३७ वर्षीय कुशेश्वर कामतीलाई जिल्ला अदालतले १ वर्ष ३ महिना कैद सजायको फैसला ०८० मङ्सिर २६ गते गरेको छ ।
जिल्ला अदालतका न्यायधिश दण्डपाणी लामिछानेको इजलासले सो फैसला गरेको हो । फैसलामा पीडितलाई १ लाख रुपियाँ क्षतिपूर्ति दिनु पर्ने र १२ हजार ५ सय रुपियाँ जरीवाना तिर्नु पर्ने समेत फैसला भएको छ ।
आरोपितले बालिकालाई ०७९ मङ्सिर २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा मङ्सिर २२ गते उजुरी दिएका थिए । बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा मङ्सिर २२ गते भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाले आरोपितलाई मङसिर २२ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित पुस १९ गते देखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।