INSEC Online

📅 २०८३ जेष्ठ २१

संविधान दिवसमा कैद मिनाह पाएका रिगललाई सर्वोच्च अदालतको आदेशलगत्तै गिरफ्तार

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा कैद मिनाह पाएका चेतन मानन्धर हत्या अभियोगमा सजाय भोगीरहेका रिगल भनिने योगराज ढकाललाई सर्वोच्च अदालतको आदेशलगत्तै प्रहरीले कात्तिक १६ गते नेपालगञ्जबाट गिरफ्तार गरेको छ ।

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी तत्कालीन पत्नी भारती शेर्पाले ०८० असोज १४ गते सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो ।

रिट उपर सुनुवाइ गर्दै न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको कात्तिक १६ गतेको इजलासले सजाय छुट बदर गर्दै तत्काल गिरफ्तार गरेर थुनामा राख्न आदेश दिएको हो । रिगलको  ११ वर्ष ११ महिना पाँच दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको थियो ।

रिगलमाथि २०७२ असार २८ गते नेपालगञ्जको धम्बोजी चोक नजिक चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा  जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले ०७५ वैशाख ११ गते दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । घटनामा सङलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण डाँगीका अनुसार अदालतको आदेशलगत्तै रिगललाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

अन्य

भिडियो