INSEC Online

📅 २०८३ असार २१

सामाजिक सुरक्षा र तलव वृद्धिको माग गर्दै सिमेन्ट उद्योगका कर्मचारी आन्दोलनमा

दाङको लमही नगरपालिका–७ मा रहेको सिजी सम्राट सिमेन्ट उद्योगले तलव वृद्धिमा भेदभाव गरेको र सामाजिक सुरक्षा कोषमा आफूहरुलाई नजोडेको भन्दै उद्योगमा कार्यरत २ सय ७५ वढि कर्मचारीहरूले उद्योगको मुलगेटमा तालाबन्दी गर्दै अनिश्चितकालिन आन्दोलन सुरु गरेका छन् ।

उच्चस्तरका कर्मचारीकोमात्रै तलव वृद्धि गरेको  र कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा संलग्न नगराएको भन्दै कर्मचारीहरूले विभिन्न सात बुँदे माग राखेर आन्दोलन थालेको संघर्ष समितिका संयोजक एवं उद्योग प्रशासन कर्मचारी गोविन्द देवकोटाले जानकारी दिनुभयो । कर्मचारीहरुले सात बुँदे मागसहितको ज्ञापन पत्र असार १९ गते उद्योग कर्मचारी प्रशासन प्रमुख अन्नपूर्ण मिश्रालाई बुझाउँदै आन्दोलनमा उत्रिएको घोषणा गरेका हुन् ।

कर्मचारीहरुको आन्दोलनका कारण सिमेन्ट उद्योगको उत्पादन तथा बितरणलगायत सम्पूर्ण काम ठप्प पारिएको संघर्ष समितिले जनाएको छ । उनीहरुले ज्ञापनपत्रमा भेदभाव नगरी सबै कर्मचारीहरुको तलव वृद्धि गरिनुपर्ने, मूल्याङ्कनको आधारमा कर्मचारी बढुवा हुनुपर्ने, खाइपाइ आएको सुविधा कटौती गर्न नहुने, सबै कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य समावेश गर्नुपर्ने र तलबको ६० प्रतिशत आधारभूत तलब मानेर सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिनुपर्ने, भोजन तथा आवासमा गरिएको विभेदको अन्त्य हुनुपर्ने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने र रिक्त हुने पदहरुमा मातहतका कर्मचारीहरुलाई नै बढुवा गरेर राख्नुपर्ने उल्लेख छ । माग सुनुवाइ नहुँदासम्म आन्दोलन जारी राख्ने जनाएका छन भने प्रशासन प्रमुख अन्नपूर्ण मिश्राले कर्मचारीका मागका बारेमा छलफल भइरहेको बताउनुभयो ।

जयनारायण पुन

अन्य

भिडियो