बाल सुधार गृहमा भएको झडपमा मृत्यु भएका बालकको सत्यतथ्य छानविन र न्यायीक पहलका लागि इन्सेक नेपालगञ्जले राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जलाई असोज २९ गते अनुराेध गरेको छ ।
मृतक परिवारले सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही र मृतक परिवारलाई क्षतिपूर्तिका लागि न्यायीक प्रक्रियामा सहयोग गरी दिन भन्दै इन्सेक नेपालगञ्जमा असोज २९ गते निवेदन दिएका थिए ।
उक्त निवेदनका आधारमा इन्सेक नेपालगञ्जले न्यायीक प्रक्रियामा सहयोगका लागि राष्ट्रिय मानव अधिकार आयोगमा अनुराेध गरेको हो ।
बाँकेस्थित जयेन्दु बाल सुधार गृहमा असोज ४ गते भएको झडपमा रूपन्देही जिल्ला कन्चन गाउँपालिका–४का १९ वर्षीय सुलभ केसीको असोज ५ गते नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मृतक पक्षले असोज ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको भए पनि सुनुवाइ नभएको बताए ।