
सम्सी गाउँपालिका–२ पर्सा देवाडका मृतक खुर्सेद अन्सारीका परिवारलाई ०८० असोज २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अन्तर्गत रहेको मानव अधिकार सहायता कक्षद्वारा आर्थिक सहयोग प्रदान गरिएको छ ।
कुटपिट गरी अमानवीय तरिकाले हत्या गरिएका मृतक अन्सारीको परिवारको आर्थिक अवस्था कम्जोर भएको हुनाले मानव अधिकारकर्मीहरूको उपस्थितिमा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशका संयोजक राजु पासवानले मृतक अन्सारीका पत्नी रसिदा खातुनलाई नगद १०,००० रुपियाँ हस्तान्तरण गर्नु भयो ।
मृतक अन्सारीका ६ जना छोराछोरीहरू छन् । ती मध्ये दुई जना छोराहरू पढाई छाडी भारतमा काम गर्न बाध्य भएका छन् र अरु चार जना गाउँमा आमासँग बसेका छन् । पीडित परिवारलाई न्यायीक प्रक्रियामा जान तथा छोराछोरीहरूको पठन पाठनमा सहयोग पुग्ने उद्देश्यले मानव अधिकार सहायता कक्षले आर्थिक सहयोग गरेको इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले बताउनु भयो । सन २०२३ को हालसम्ममा सात जना पीडित परिवारलाई आर्थिक सहयोग गरिएको पासवानले बतउनु भयो ।
खुर्सेद अन्सारीले खसी नकाटेको र पछिल्लो खसीको मासुको रकम हिनामिना गरेको भन्दै ०७९ पुस ७ गते शेष अव्दुस कलामले अन्सारीलाई पर्सा देवाड बजार स्थित माटोको घरभित्र हात बाँधेर अमानवीय तरिकाले कुटपिट गरी नालामा फ्याकेका थिए । उनलाई उपचारको लागि तत्काल रामगोपालपुर नगरपालिका–९ स्थित जानकी एकेडेमिक अस्पतालमा लगिएको थियो तर, त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जनकपुर स्थित जानकी हेल्थ केयरमा लगिएको थियो । उपचारको क्रममा पुस १० गते अन्सारीको मृत्यु भएको थियो ।