पाठ्यपुस्तक बिना परीक्षा दिन बाध्य छन् गौमुखी गाँउपालिका र स्वर्गद्वारी नगरपालिकाका बालबालिकाहरू विद्यालय भर्ना भएका बालबालिका मध्ये केही बालबालिकाहहरूले वार्षिक परीक्षा दिने समय आइपुग्दा सम्म पनि पाठ्यपुस्तक पाएका छैनन् ।
नेपाल सरकारले कक्षा चार, सात र नौमा नयाँ पाठ्यक्रम लागु गरेको र नयाँ पाठ्यक्रम आवश्यकताको ८० प्रतिशत मात्र आएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्यूठानका प्रमुख शिव पण्डितले बताउनु भयो ।
पहिलो दुई वर्ष कोभिडका कारण शैक्षिक क्यालेण्डर प्रभावित भयो भने यस वर्ष पनि ढिलो शैक्षिक सत्र सुरू भयो । त्यसमा पनि विषयगत पुस्तक प्रर्याप्त नहुँदा शिक्षण सिकाई प्रभावित बनेको अर्खा माविका शिक्षक मित्र थापाले बताउनु भयो ।
जिल्लाका नौ ओटा स्थानीय तहहरू मध्ये प्यूठान नगरपालिका, मल्लरानी गाउँपालिका र झिमरुक गाउँपालिका , सरुमारानी गाउँपालिका र ऐरावती गाउँपालिका अन्तर्गतका विद्यालयहरूले आफै पुस्तक खरिद गरी बालबालिकालाई उपलब्ध गराएको उक्त स्थानीय तहका शिक्षा शाखाले जनाएका छन् ।
जिल्लामा ३ सय ९८ सामुदायिक र ४६ संस्थागत विद्यालय गरी ४ सय ४४ विद्यालयमा भर्ना भएका करिव ६७ हजार बालबालिकाले पठनपाठन गर्ने गर्दछन् ।
नेपालको संविधानको धारा ३१ मा मौलिक हक अन्तगर्त शिक्षा सम्वन्धी हकको दफा १ मा प्रत्येक नागरिकलाई शिक्षामा पहुँचको हक हुनेछ भनिएता पनि बालबालिकाहरू पाठ्य पुस्तक नपाउदा शिक्षाको अधिकारबाट वञ्चित हुनु परेको छ ।