६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले भारत स्थायी घर भइ मेचीनगर नगरपालिका–१० बस्दै आएका ३७ वर्षीय निपु दासलाई ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवालीको ०७९ माघ १६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ५ हजार रुपियाँ जरिबाना भराउन आदेश भएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुरागाँइले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७९ असोज ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडि पक्षले आरोपितविरूद्ध असोज १६ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले असोज १६ गते गिरफ्तार गरी जिल्ला अदालतमा कात्तिक २ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश रोशन गजुरेलको कात्तिक ३ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण मेची अस्पतालमा ०७९ असोज १६ गते गरिएको थियो ।