INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्पले विद्यालय भवन चर्किएपछि विद्यार्थी हिउँमाथि खुला आकाशमूनी अध्ययन गर्न बाध्य

बुढिनन्दा नगरपालिका–९ मा रहेको सिद्धेश्वरी आवासीय आधारभूत विद्यालयको भवन माघ १० गते आएको भूकम्पले चिराचारा बनाएपछि बालबालिका  हिउँमाथि खुला आकाशमूूनी पढ्न बाध्या भएका छन् ।

हिउँ परेको दिनमा भने विद्यालय बन्द गर्ने गरेको छ । माघ १० गते हिमाली गाउँपालिकाको बिच्छयाँ आसपास केन्द्रबिन्दु बनेर आएको ५.९ म्याग्नेच्युडको भूकम्पले विद्यालयको भवन चिराचिरा परेपछि विद्यालय जोखिममा रहेको शिक्षक इन्द्रबहादुर शाहीले बताउनु भयो ।

जीर्ण बन्दै गएको विद्यालयको भवन भूकम्पले भत्किने होकी भन्ने डरमा चिसो भएपनि शिक्षकले बाबालिकाहरुलाई अहिले हिउँमाथि बसालेर पढाइ सञ्चालन गर्नु पर्ने बाध्यता भएको शिक्षक शाहीलेको भनाइ छ ।

विद्यालयका प्रधानाध्यापक तुलाबहादुर रावतले विद्यालय भित्र बस्दा भूकम्पको डर लाग्ने गरेकोले चिसो भएपनि बाहिर हिउँमाथि बसेर पढाइ गर्दै आएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘तीन दिनसम्म लगातार हिमपात भयो । हिउँ बिलाएको छैन् । चिसो अति छ । तै पनि भूकम्पको डरले चिसो भएपनि हिउँमै बसेर पढाउनु परेको हो ।’

भूकम्पले पटक पटक झट्का दिर्दै आएकोले कती बेला विद्यालय भत्किएर बालबालिका चेपिन्छन भन्ने डरले घाम लागेको समयमा बाहिर बाक्लो हिउँ भएपनि विद्यार्थीहरुलाई हिउँमाथि बेन्च राखेर पठनपाठन हुँदै आएको अभिभावक दिलबहादुर भोटे थापाले बताउनु भयो । यस विद्यालयमा भोटे जनजातीका बालबालिका अध्ययनरत रहेका छन् ।

जनजाति समुदाय मौसमी बसाइ सर्ने भएकाले यो विद्यालयलाई आवासीय विद्यालयका रुपमा सञ्चालनमा ल्याएको छ । हिउँदको समयमा परिवारसँगै बालबालिका बेसी झर्ने भएकाले विद्यालयलाई आवासीय विद्यालय बनाएर पढाइ सञ्चालन गरेको बुढिनन्दा नगरपालिकाका प्रमुख जनक बोहोराले बताउनु भयो ।

विद्यालयमा आवासीयका रुपमा ६० जना विद्यार्थी विद्यालय मै बस्ने गरेका छन् । अन्य विद्यार्थी घरबाटै आउँछन् । विद्यालयमा १ सय १२ जना विद्यार्थी अध्यनरत रहेका छन् । आवासीय रुपमा बस्ने विद्यार्थीको खान बस्नको व्यवस्थापन अभिभावकले गर्ने गरेका छन् । घरका अभिभावक भेडा लिएर अछाम तिर बसाइ सरेपछि बालबालिकालाई विद्यालयमा राख्ने गरेका छन् ।

६ महिनासम्म एक विद्यार्थी बराबर अभिभावकले ५० केजी चामल, आठ केजी दाल, पाँच केजी तरकारी, तीन पोका नुन, चार पोका तेल विद्यालयमा दिने गरेका छन् ।

हिउँदमा हिउँ परेपछि जिल्लाका हिमाली भेगका अधिकाशं विद्यालयलमा सधै यसरी नै विद्यालय सञ्चालन हुने गरेका छन् ।

माघ १० गते आएको भूकम्पले क्षति पुगाएका भवन लगायत सार्वजनिक तथा नीजि घरहरुको तथ्याङक संकलन भइरहेकोले चाडे शिद्धेश्वरी आवासीय विद्यालयको समस्य समाधानका लागि पनि पहल भइरहको नगरप्रमुख जनक बोहोराले बताउनु भयो ।

अन्य

भिडियो