इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका कोहलपुर नगरपालिका–१ का ४७ वर्षीय किशनलाल कुँवर जेठ ११ गते बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले बिहान करीब ५ बजे तिर कुँवर हिरासतको शौचालयमा झुण्डिएको र मृत अवस्थामा भेटिएको बताउनु भयो ।
‘हिरासत कक्षबाट ट्वाइलेट गएका कुँवर भ्यान्टीलेटरमा टिसर्टको पासो लगाएर मृत अवस्थामा पाइयो ।’ मल्लले भन्नु भयो ।
कुँवरलाई प्रहरीले वैशाख २० गते सात वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा गिरफ्तार गरी जबरजस्ती करणी उद्योगको अभियोगमा म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको थियो ।
प्रहरीले स्थानीय र आफन्तको रोहबरमा आवश्यक मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाएको छ ।
यसैगरी, घटनाको जानकारी पाए पछि इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगको टोलीले घटना स्थलको अनुगमन गर्नुको साथै घटनाबारे जानकारी लिएको छ ।