सर्लाही जिल्ला गोडैता नपा-११ घर भई वीरगञ्ज उमनपाको रमगढवा स्वास्थ्य चौकीमा अहेब पदमा कार्यरत २८ वर्षीया बबिताकुमारी पण्डित कुम्हालको चैत १३ गते बाराको प्रसौनी गाउँपालिका-६ स्थित सिङहा खोला छेउमा हत्या गरिएको अवस्थामा बोरामा शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतक बबिताकुमारीका बावु नागेन्द्र पण्डितले घटनाको छानबिन गर्न चैत १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । बबिताकुमारीको सात वर्षीया छोरी छन् । उनका पति ३५ वर्षीया अमरेन्द्र पण्डित कुम्हाल गाउँकै विद्यालयमा शिक्षक हुन् । उनी प्रहरीको सम्पर्कमा आएका छैनन् ।
शवको पोष्टमार्टम कलैया अस्पतालमा चैत १५ गते गरिएको छ । पति पत्नीबीचको अंश मुद्दा विवादले बबिताकुमारीको हत्या भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनायो । मृतकको टाउकोमा धारिलो हतियारले घोचिएको अवस्थामा शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्रबाबु रेग्मीले बताए ।