INSEC Online

📅 २०८३ जेष्ठ २१

संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिको टोली घटनास्थलमा

व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिद्वारा गठित उप-समितिले चैत १० गते सप्तरीको बसविट्टीमा भएको घटनास्थलको स्थलगत अध्ययन गरेको छ ।

Photo2017023Saptari

सांसद मोख्तार अहमदको संयोजकत्वमा आएको सात सदस्यीय टोलीले मृत्यु भएका मलेठ गाविसका तीन जनाको परिवार, स्थानीयवासी, प्रत्यक्षदर्शी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूसँग जानकारी लिएका छन् ।

टोलीले अपरान्ह प्रमुख जिल्ला अधिकारीको निवासमा मोर्चाका नेताहरूसहित राजनीतिक दल, स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरूसँग पनि घटनाबारे जानकारी लिएको छ ।

Photo2017023Saptari1

टोलीमा अहमदसहित सांसदहरू बसुन्धारा रोकाय, दुलारी हरिजन, श्यामसुन्दर टेवडिवाल, उषा यादव तथा संसद सचिवालयका कर्मचारीहरू ज्ञानहरी पन्थी र सुशिल खडका सहभागी छन् ।

नेकपा एमालेको मेची-महाकाली राष्ट्रिय अभियान सञ्चालनका क्रममा फागुन २३ गते बसविट्टी गाविस-५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा प्रहरी र मोर्चाका कार्यकर्ताबिच भएको झडपमा प्रहरीको गोली लागि पाँच जनाको मृत्यु भएको थियो ।

Photo2017023Saptari2

उक्त घटनामा मलेठ गाविस-२ का २६ वर्षीय सञ्जन मेहता, सोही वडाका ३७ वर्षीय विरेन्द्र महतो, मलेठ गाविस-४ का ५० वर्षीय पीताम्बर मण्डल, प्रसवनी गाविस-४ का ३८ वर्षीय आनन्दकुमार साह र जमुनी मधेपुरा गाविस-१ का ५७ वर्षीय इन्द्र भनिने इनरदेव यादवको मृत्यु भएको थियो । मृतक सबैको टाउको, पेट र छातीमा गोली लागेको थियो ।

सप्तरी घटनाका सम्बन्धमा स्थलगत रूपमा सत्यतथ्य अध्ययनपछि चैत १५ गते संसदीय समितिसमक्ष प्रतिवेदन पेश गरिने र रायसहित सरकारलाई बुझाउने उपसमितिका संयोजक अहमदले बताए । घटनाका पीडित भएका परिवारका लागि सरकारले गर्नुपर्ने सम्बोधनमा समितिले पहल गर्ने उनले बताए ।

मृतक परिवारका लागि सरकारले तत्कालै १० लाख क्षतिपूर्तिको घोषणा गरेपनि हालसम्म नपाएको पीडित परिवारले गुनासो गरेका छन् ।

अन्य

भिडियो