वनमा आगो लगाएको आरोपमा सीमा सुरक्षा वल आँपटारीका सशस्त्र प्रहरीले भरतपुर मनपा-११ का १४ वर्षीय पुस्कर तामाङ, १७ वर्षीय अमित थापामगर, १७ वर्षीया दानु हमाल र १७ वर्षीय विमल बिकलाई चैत ४ गते नियन्त्रणमा लिई कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
भरतपुर मनपा-११ गणेशस्थान क्षेत्रमा रहेको वनमा आगजनी गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएर सशस्त्र प्रहरीले कुटपिट गरेको पीडित बालक पुस्कर तामाङले आरोप लगाए । पीडित बालबालिकाको आँखा, ढाड, पाखुरा, घुँडालगायतका शरीरका अङ्गमा घाउचोट छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा वल आँपटारीका प्रमुख एसपी श्याम कोइरालाले भने यस घटनामा आफूहरूको संलग्नतालाई अस्वीकार गरेका छन् ।
‘हामीलाई घरमा बसिरहेको अवस्थामा सशस्त्र प्रहरीले आगो लगाउने तैँ होइन ? भन्दै कुटपिट गरे ।’-पुस्कर तामाङले भने-‘हामीलाई प्रहरीले घुँडा टेकेर हिँडाउने, नाङ्गै दौडाउने, उठबस गराउने, लाठीले हान्ने काम भयो ।’ शरीरभरी घाउ भएपनि उनीहरूले उपचार नपाएको बताएका छन् । घाइते बालकको भनाई यथार्थ रहेको स्थानीयबासिन्दाको भनाइ छ ।
यस घटनामा १० जना जति गिरफ्तारमा परे पनि अरू छुटिसकेको प्रहरीले जनाएको छ । यी चार जनाको हकमा भने चैत ६ गते आगजनी आरोपमा १० दिनको म्याद थप भइ अनुसन्धान भइरहेको वन कार्यालय चितवनका प्रमुख केदार पौडेलले बताए । बालक सहित दुई जना वन कार्यालयको हिरासतमा र महिला वडा प्रहरी कार्यालयको हिरासतमा रहेको पनि पौडेलले बताए ।
‘पहिले प्रहरीले गिरफ्तार गरेको रहेछ । प्रतिवेदन तयार पारी हामीलाई जिम्मा दिएको छ ।’-प्रमुख पौडेलले भने-‘कुटपिटमा हाम्रो संलग्नता छैन ।’
प्रहरीले पनि कुटपिट घटनामा आफूहरूको संलग्नता नरहेको बताउँदै आएको छ । स्थानीयबासीले भने घटनामा संलग्न रहेका प्रहरीलाई कारबाही गर्न माग गरेका छन् ।
पीडितले कुटपिट भएको घटना चैत ७ गते मात्र पत्रकार र मानव अधिकार अभियन्तालाई जानकारी गराएका हुन् ।