राजविराजस्थित एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा एक महिनादेखि रेबिज रोगविरुद्ध लगाइने सुईको अभावले कुकुरको टोकाईबाट घाइते भएकाहरू मर्कामा परेका छन् ।

फागुन महिनाको अवधिमा बहुला कुकुरको टोकाईबाट घाइते भई अस्पताल आउनेको सङ्ख्या २५ नाघेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।
सुई अभावको सूचना पाएका घाइतेहरूले अस्पताल नआई निजी क्लिनिकबाटै उपचार गराउने गरेकाले घाइते हुनेको सङ्ख्या दोब्बर हुने अनुमान गरिएको छ ।
एक महिनादेखि एन्टिरेवीज भ्याक्सिन औषधिको अभाव रहेको बताउँदै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट दिलिपकुमार साहले औषधिका लागि समय मै स्वास्थ्य विभागलाई जानकारी गराए पनि उपलब्ध हुन नसकेको गुनासो गरे ।
अस्पतालको डिस्पेन्सरी तथा रेबिज भ्याक्सिन डिपार्टमेन्टका अहेब मनोज देवका अनुसार अस्पताल आउने दुईदेखि ५० वर्ष उमेरका घाइतेहरूमध्ये अधिकांश बालबालिका रहेका छन् ।
अहेव देवले भने-‘औषधि उपलब्ध भएका बेला बिरामीको सङ्ख्या मासिक डेढ सयभन्दा बढी हुन्छ । तर, एक महिनादेखि औषधि नआएकाले घाइतेहरूलाई उपचार नगरी फर्काउनु परेको छ ।’ रेबिज रोगविरुद्धको सुई कुकुर वा अन्य जन्तुले टोकेको पहिलो, तेस्रो, सातौँ, चौधौँ र २८ औँ दिन गरी जम्मा पाँचपटक लगाइन्छ ।
निःशुल्क रूपमा पाइने एन्टीरेबिज सुई अभाव भएपछि अस्पतालमा आउने बिरामी निजी क्लिनिकबाट महङ्गो शुल्क तिरेर सेवा लिन बाध्य छन् । निःशुल्क रूपमा पाइने औषधि नपाइएपछि बजारबाट ३ हजार ५ सय रुपियाँमा औषधि किन्नु परेको कञ्चनरुप नपा-१० की प्रमिला चौधरीले गुनासो गरिन् । नकटी रायुपर-७ का सुशिलादेवीले सर्वसुलभ रूपमा जनताले उपचार पाउने हक राज्यले खोसेको आरोप लगाइन् ।