१४ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, बाजुराले ६७ वर्षीय बुवालाई असार ३१ गते जन्मकैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालत, बाजुराका न्यायाधीश माधवप्रसाद घिमेरीको इजलासले छोरीलाई जबरजस्ती हाडनाताकरणी गरेको कसुर ठहर गर्दै मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र २१९ (२) बमोजिम जन्मकैदको सजाय गर्नुको साथै ५० हजार रुपियाँ क्षतिपुर्तीको फैसला सुनाएकोे हो ।
बालिकालाई बलत्कारपछि गर्भ रहेको पुष्टि भएपछि बालिकाका दाजुले ०७७ साउन ९ गते जबरजस्तीकरणी तथा हाडनाताकरणी अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीपछि प्रहरीले आरोेपितलाई साउन ९ गते नै गिरफ्तार गरी सरकारी वकिल कार्यालयमार्फत साउन २२ गते जिल्ला अदालत, बाजुरामा जबरजस्ती हाडनाताकरणी अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ९ गते जिल्ला अस्पताल, बाजुरामा गरिएको थियो ।