रानिवास गाविस-२ डाँडाटोलकी १७ वर्षीया विपना माझीको माघ १९ गते राति सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले रानीबास-२ साखामोरका १८ वर्षीय निरोज माझीसहित चार जनालाई माघ २० गते गिरफ्तार गरेको छ । प्रहरीले माझिसहित सोही ठाउँका अजय परियार, पवन बिक र रामजी खत्रीलाई गिरफ्तार गरेको जनाएको छ ।
प्रभात उमावि रानीवासको कक्षा १० मा अध्ययनरत विपनालाई अरेपितहरुले फोन गरी घर बाहिर बोलाएर घरदेखि केही तलको खेतमा पुर्याएर बलात्कार गरी हत्या गरेको भन्दै मृतक माझीका बुबा जिरे माझीले जिल्ला प्रहरी कार्यालयमा माघ २० गते नै उजुरी दिएका छन् ।
विपनालाई हत्या गरी उनकै कोठामा ल्याएर राखेपछि परिवारले थाहा पाएको उनले बताए । उनका अनुसार राति १ बजे कोठाको ढोकामा आवाज आएपछि मृतककी आमा सुकुमाया उठेर छोरी सुत्ने कोठामा हेर्न जाँदा ढोका खुल्ला भएको र छोरी अचेत अवस्थामा भेटिएको बताइन् ।
स्थानीयले तत्कालै एम्बुलेन्स बोलाई जनकपुरस्थित जानकी मेडीकल कलेज पुर्याउँदा विपनाको मृत्यु भइसकेको अस्पतालले घोषणा गरेको जिरे माझीले बताए । मृतकको शव माघ २० गते जिल्ला अस्पताल सिन्धुलीमा ल्याएर पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुवासचन्द्र बोहोराले बताए ।
विपनाको शरीरभरी निलडाम भएको, योनीबाट रगत बगेको, निधारमा गहिरो चोट रहेको हुँदा बलात्कारपछि हत्या भएको परिवारको दावी छ । निरोजले विपनालाई प्रेम गर्ने गरेको र प्रेम अस्वीकार गरेपछि उनको हत्या गरेको स्थानीयको आरोप छ ।