नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले बिन्दवासनी गाउँपालिकामा कात्तिक ६ गते आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा परी घाइते भएका बिन्दवासीनी गाउँपालिका–१ बहुअर्वाभाठाका ३७ वर्षीय मुकेश चौरसियाको मृत्यु भएको छ ।
झडपमा चौरसियाको टाउकोमा चोट लागेको थियो । बीरगंजस्थित न्युरो अस्पतालमा उपचाररत चौरसियाको मृत्यु कात्तिक ७ गते बिहान भएको अस्पतालले जनाएको छ ।
चौरसियाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजित कुँवरले बताउनु भयो ।
चौरसियालाई न्युरो अस्पतालको अइसीयूमा राखेर उपचार गराइएको थियो । टाउकोमा बासको चिरपटले हिर्काएको र त्यसको चोट गहिरो रहेको अस्पतालले जनायो ।
नेकपाको एउटा पक्षले कात्तिक ६ गते बिन्दवासनी गाउँपालिका–५ पर्सौनीभाठामा गाउँपालिका कमिटीको लागि शपथ ग्रहण कार्यक्रमको आयोजना गरेको थियो ।
कमिटीको शपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षलाई नसमेटिएको भन्दै विरोध गरेपछि झडप भएको थियो ।
झडपमा बिन्दवासीनी गाउँपालिका–४ का ३५ वर्षीय उत्तम तिवारी र ४३ वर्षीय चिन्टु तिवारी घाइते हुनु भएको छ ।
प्रहरीले झडपमा संलग्न रहेको आरोपमा बिन्दवासीनी गाउँपालिका–३ का ३४ वर्षीय हनिफ अन्सारी र ३२ वर्षीय देव सहनीलाई गिरफ्तार गरेको छ ।
चौरसिया तत्कालिन माओवादी केन्द्रबाट गाउँपालिकाको वडा नं. २ को वडा अध्यक्षका उम्मेदवार थिए । चौरसिया पार्टीको जिल्ला कमिटीका सदस्य तथा गाउँपालिका कमिटीका सचिव समेत हुन् ।