INSEC Online

📅 २०८३ जेष्ठ २१

यातना पीडितलाई मानव अधिकार सहायता कक्षको सहयोग

जिल्ला प्रहरी कार्यालयको हिरासतमा यातना पाएका कोहलपुर नगरपालिका–१५ का १८ वर्षीय दिपक यादवको उपचार सहयोगका लागि मानव अधिकार सहायता कक्षले असोज २ गते आर्थिक सहयोग गरेको छ ।

मानव अधिकार सहायता कक्षले पीडितको थप उपचारका लागि सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको इन्सेकका प्रदेश प्रमुख भोला महतले बताउनु भयो ।  डिसिएको सहयोगमा स्थापना गरिएको मानव अधिकार सहायता कक्षको  सचिवालय  इन्सेक, नेपालगञ्जमा रहेको  छ ।

जिल्ला प्रहरी कार्यालयले चोरीको आरोपमा गिरफ्तार गरी हिरासतमा राखेर कुटपिट गरेको र यातना दिने प्रहरीलाई कारबाही र पीडितलाई क्षतिपुर्तिको माग भन्दै पीडितपक्षले ०७६ पुस २३ गते राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जमा उजुरी दिनुको साथै इन्सेक नेपालगञ्जमा बोधार्थ दिएका थिए ।  घटनाको राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गरिरहेको आयोग, नेपालगञ्जका प्रमुख चन्द्रकान्त चापागाईले  बताउनु भयो ।

पीडितको उपचारमा आर्थिक समस्या देखिएकोले  उपचारमा सहयोग पुर्‍याउन आयोगले मानव अधिकार सहायता कक्षलाई सिफारिश गरिएकाे चापागाईले गरेको बताउनु भयो ।

बसमा यात्रा गर्ने क्रममा ०७६ पुस १३ गते एक जना महिलाको  झोला र आवश्यक कागजात हराएको भन्दै पुस १६ गते नेपालगञ्जबाट कोहलपुरतर्फ जादै गरेको भे १ ख २२३९ नम्बरको बसलाई प्रहरीले कारकादो चोकमा रोकेर यात्रुलाई झार्न लगाई बसका चालक कोहलपुर नपा–६ बस्ने सुवास थारु , कन्डक्टर कोहलपुर नपा–७ बस्ने जंगली थारु र सहचालक दिपक यादवलाई जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको थियो ।

प्रहरी कार्यालयमा लगेर समान चोरेको आरोपमा  लाठीले कुटपिट गरेको र खुट्टा पसार्न लगाएर बुटले कुल्चेर यातना दिएको दिपकले बताउनु भयो । कुटपिटका कारण उभिन र हिडँडुल गर्न नसक्ने यादवलाई नेपालगञ्ज नर्सिङ होममा पुस १७ गते र पुनः पुस २१ गते उपचार गरिएपनि पुर्ण रुपमा ठिक नभएको पीडितले बताउनु भयो ।

सहयोग रकम बुझ्दै पीडितले अप्ठ्यारो परिस्थितिमा मानवअधिकार सहायता कक्षले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै प्राप्त रकमले उपचारमा  सहयोग पुग्ने  बताउनु भयो ।

Æ

Æ

Æ

Æ

Æ

अन्य

भिडियो