INSEC Online

📅 २०८३ जेष्ठ २१

रौतहट घटनाः एसपीसहित ६ जनाविरूद्ध उजुरी दर्ता

गरुडा नपा–८ स्थित जिंगडीयाका १९ वर्षीय विजय महराको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा यातना दिएका कारण मृत्यु भएको भन्दै एसपी सहित ६ जनाविरूद्ध मृतकका बुबा पनिलाल महराले दिएको उजुरी जिल्ला सरकारी वकिलको कार्यालय गौरमा भदौ २४ गते दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय गौरमा भदौ २४ गते जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन एसपी रविराज खड्का, जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत इन्स्पेक्टर नविन सिंह, प्रहरी हवल्दारद्वय फिरोज मिया धुनिया, मुन्नाकुमार सिंह, इलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन डिएसपी ज्ञानकुमार महत्तो र सई वीरेन्द्र यादवविरूद्ध यातना र कर्तव्य ज्यानसम्बन्धी उजुरी दर्ता भएको हो ।

इन्स्पेक्टर नविन सिंह, प्रहरी हवल्दारद्वय फिरोजमिया धुनिया र मुन्नाकुमार सिंह निलम्बनमा परिसकेका छन् भने एसपी खड्कालाई प्रहरी प्रधान कार्यालय काठमाडौँ र डिएसपी ज्ञानकुमार महतो र सई वीरेन्द्र यादवलाई प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा तानिएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका महराको यातनाका कारण गएको भदौ ११ गते बिहान १ बजे मृत्यु भएको भन्दै उनका बुबा पनिलालले न्यायको लागि उजुरी दर्ता गर्नु भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायधिवक्ता सुवासकुमार भट्टराइले एसपी सहितको यातना र कर्तव्य ज्यानसम्बन्धी उजुरी दर्ता गर्दै कार्यान्वयनको लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको बताउनु भयो ।

गत साउन ३१ गते फलफुल नर्सरीमा कार्यरत गरुडा नपा–८ स्थित जिंगडीयाका २० वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या गरेको आरोपमा प्रहरीले महरालाई गिरफ्तार गर्दै यातना दिएका कारण मृत्यु भएको पीडित पक्षको आरोप छ ।

उक्त घटनाका छानविन गरी दोषीलाई कारबाहीको माग गर्दै निरन्तर आन्दोलनपछि भदौ २४ गते जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयबाट पत्र प्राप्त भएको र अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले बताउनु भयो ।

अन्य

भिडियो