INSEC Online

📅 २०८३ जेष्ठ २१

सात महिनादेखि कोल्टि स्वास्थ्य केन्द्र डाक्टरविहिन हुँदा सेवाग्राही समस्यामा

कोल्टि स्वास्थ्य केन्द्र सात महिनादेखि डाक्टरविहिन हुँदा यस क्षेत्रका सेवाग्राहीहरूले लामो समयदेखि समस्या झेल्दै आएका छन् ।

बुढिनन्दा नगरपालिका, हिमाली,स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको  ५० हजार २ सय ६ भन्दा बढी जनसंख्या रहेको पूर्वी उत्तरी क्षेत्रका जनतालाई सेवा दिदै आएको कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रमा डाक्टरविहिन हुँदा सेवाग्राहीहरूले सास्ती झैल्दे आएनु परेको हो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर गणेश चौधरी ०७६ साउन महिनामा समायोजन भएर गएपछि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर बिहिन हुन गइ अहेब, अनमीको भरमा सञ्चालन हुँदै आएको छ ।

स्वास्थ्य केन्द्रमा उपचारका लागि दैनिक १ सय भन्दाबढी विरामी आउने गरेको भए पनि डाक्टर नभएका कारण उपचारमा समस्या भएको स्वास्थ्य केन्द्रका निमित्त प्रमुख सिंहराज गिरीले बताउनु भयो ।

उहाँले भन्नु भयो – ‘डाक्टर सरुवा भएर गएको सात महिना भयो । नयाँ आउने कुनै सुरसार नै छैन् । डाक्टर ल्याउन जनप्रतिनिधि र सरोकारवालाहरूले प्रयास गरेका छैनन् । बिरामीले सामान्य उपचार सेवा पाउने गरेको भए पनि स्वास्थ्य केन्द्रले दिनु पर्ने गुणस्तरिय सेवा दिन नसकेका कारण कोल्टि क्षेत्रका नागरिक समस्यामा परेका छन् ।’

स्वास्थ्य केन्द्रमा बिरामीलाई दिन औषधी समेत नभएको र ल्याब, एक्सरे मेसिन नभएको कारण सामान्य खालको बिरामीलाई पनि रिफर गरेर महङ्गो जहाज भाडा तिरेर अन्य जिल्लामा उपचार गर्नु पर्ने बाध्यता रहेको गिरीले बताउनु भयो ।

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टमको लागि घर नभएकोले खुला ठाउँमा लासको पोष्टमार्टम गर्नु पर्ने बाध्यता रहेको छ ।

 

पूर्वी उत्तरी क्षेत्रको नमुना स्वास्थ्य चौकीका रुपमा रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार डाक्टर र स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भएको बुढिनन्दा नगरपालिका –१ का वडा अध्यक्ष नृपराज खत्रीले बताउनु भयो ।

उहाँले भन्नु भयो – चिकित्सक नहुँदा उपचारका लागि महँगो हवाई भाडा तिरेर यस क्षेत्रका बिरामीहरू नेपालगञ्ज जान बाध्य छन् ।

स्थानीय तह सञ्चालनमा आएपछि स्थानीय स्वास्थ्य संस्थाहरूको व्यवस्थापनको जिम्मा पनि सम्बन्धित स्थानीय तहकै भएकोले जिल्ला अस्पलालको कुनै भूमीका नहुने  जिल्ला अस्पताल,बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताउनु भयो ।

बुढिनन्दा नगरपालिकाकी उपप्रमुख श्रृष्टि रेग्मीले दुर्गममा डक्टर नै आउन नमान्ने र आउन चाहाने डक्टरले पनि पारिश्रमिक धेरै भन्ने गरेकाले स्थानीय तहले डाक्टरको व्यवस्थापन गर्न नसेको बताउनु भयो ।

आफूले पटकपटक बिभागमा गएर डाक्टरको माग गरेको भए पनि  बिभागले प्रदेश सरकोको जिम्मा दिइएकोले प्रदेश सरकारसँग समन्वय गर्नु भनेपछि डाक्टरको व्यवस्थापनका  लागि प्रदेश सरकारसँग समन्वय भइरहेको  उपप्रमुख रेग्मीको भनाइ छ ।

अन्य

भिडियो