INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अस्पतालमा औषधी अभाव

नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधीहरूको अभाव भएको जिल्ला अस्पताल सिरहाले जनाएको छ । नेपाल सरकारको नियम अनुसार हाल जिल्ला अस्पतालबाट ७० प्रकारका औषधीहरू निःशुल्क उपलब्ध गराउने व्यवस्था भएपनि जिल्ला अस्पतालमा ५१ प्रकारको औषधीहरू अपुग मात्रामा मात्र उपलब्ध रहेको प्रशासन शाखाका बिनोद यादवले जानकारी दिनु भयो ।

औषधी अभावबारे सम्बन्धित निकायलाई जानकारी गराउँदा औषधी आपूर्ति हुन नसकेको यादवले बताउनु भयो । भएको औषधीहरू पनि कम रहेको, कतिपय औषधीहरू महिना दिनलाई पनि नपुग्ने भएको र १९ प्रकारका औषधीहरू उपलव्ध नरहेका कारण उपचारमा आउने बिरामीहरूलाई निःशुल्क वितरण गरीने औषधीहरू किनेर ल्याउन भन्नु परेको प्रशासन शाखाका यादवले जानकारी दिनु भयो ।

उपचार पछि निःशुल्क औषधी सकिएकोले औषधी बजारबाट किनेर ल्याउनु भनी पठाएको जिल्ला अस्पतालमा माघ ३ गते उपचारको लागि आउनु भएकी ३५ वर्षीया रमला देवी सदाले बताउनु भयो । पैसा हुनेहरू नीजि अस्पतालमा जान्छन् तर हामी दलित गरिबहरू सरकारी अस्पतालमा निःशुल्क औषधी, उपचार हुन्छ भनेर आउँदा पनि औषधी सकियो किनेर ल्याउन भन्ने गरेको उहाँले बताउनु भयो ।

त्यसैगरी उपचारकै लागि आउनु भएका श्रीराम शर्माले पनि अस्पतालमा औषधी सकिएकोले बाहिर पसलबाट किनेर खानु भनेर डाक्टरले पठाएको बताउनु भयो । नियमित खानुपर्ने औषधी नेपाल सरकारले निःशुल्क वितरण गर्न भनेपनि आफुले औषधी किनेर खानु परेको जिल्ला अस्पतालमा उपचारको लागि आउनु भएकी जिवछी साहले बताउनु भयो ।

जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नागेन्द्रप्रसाद यादवले पटक–पटक विभागमा ताकेता गर्दा पनि औषधी नपठाउने गरेको गुनासो गर्नु भयो । विभागले एलबेण्डाजोल र आइरण चक्की बाहेक अन्य औषधी छैन आएपछि पठाउँछौं भन्नु हुन्छ, अस्पतालमा रकम छैन हामीले के गर्ने ? भएकै औषधीहरू मिलाएर वितरण गर्ने गरेको र नभएको औषधीहरू किनेर खान भनेर पठाउने गरेको मेसु यादवले बताउनु भयो ।

जिल्ला अस्पतालमा दैनिक २ सय भन्दा बढी बिरामी उपचारको लागि आउने गरेका छन् ।

अन्य

भिडियो